काठमाडौं– विवादित बनेको मेडिकल सामाग्री बोकेको भाडा नेपाल एयरलाइन्सले अझै पाएको छैन। सामाग्री बोक्नका लागि विमान चार्टर गरी चीन लगिएको थियो।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज १० दिनअगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चार्टरमा चीनको गोन्जाओ पुगेर मेडिकल उपकरण र औषधि ल्याएको थियो। चैत १५ गते शनिबार प्रस्थान गरेको विमान १६ गते बिहान साढे ५ बजे काठमाडौं आइपुगेको थियो।
व्यवसायीसँग खरिद गरेको सामान बोन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफैं नेपाल एयरलाइन्सको जहाज चार्टर गरेको थियो। चार्टर जहाजमा सिचुवान प्रान्त सरकार लगायत ५ वटा विभिन्न संस्थाले अनुदानमा दिएको ३ टन मेडिकल सामान सहित आफैंले खरिद गर्न लागेको ओबिसिआईको साढे ९ टनभन्दा बढी सामान ल्याएको थियो।
ओबिसिआईसँग सरकारले मेडिकल उपकरण तथा औषधिका लागि गरेको खरिद सम्झौता समेत खारेज भइसेको छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झन्डै २ करोड रुपैयाँ नेपाल एयरलाइन्सलाई भुक्तानी गरेको छैन।
मन्त्रालयले नेपाल एयरलाइन्सले वाइडबडी जहाज सामान ल्याउन प्रतिघन्टा १८ हजार १ सय डलरको दरमा चार्टर गरेको थियो। चीनको गोन्जाओबाट सामान ल्याउन नेपाल एयरलाइन्सको जहाजले ८ घन्टा ३० मिनेटको उडान गरेको थियो। उक्त उडान वापत नेपाल एयरलाइन्सले १ करोड ८२ लाखभन्दा बढी रकम पाउने छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त रकम भुक्तानी गरेको छैन।
मन्त्रालयले ओबिसिआईसँग औषधि खरिद सम्झौता रमेत रद्द गरिसेको छ। तर, अब उक्त रकम कसले दिने भन्ने अन्योल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।