सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड-१९) को लक्षणसँग मिल्दोजुल्दो रुँघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म पुर्याउन सरकारी सवारी साधन नै प्रयोग गर्नु परेको थियो।
कोरोना भाइरसको लक्षण आशंकामा जिल्लाको लिसंखुपाखर गाउँपालिकाकी-४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना लिइएको हो। सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालको आइसोलसनमा राखेर उनको उपचार थालिएको छ।
स्थानीय स्वास्थ्य संस्थाबाट ज्वरोको औषधि खाँदा कम नभएपछि थप उपचारको लागि उनी आइतबार खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल आइपुगेकी थिइन्। कोरोनाको लक्ष्यणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालका डा. राजकुमार दंगालले उनलाई आइसोलेसनमा रेफर गरेका थिए।
अस्पतालले आइसोलेसनका लागि वार्ड छुट्याए पनि सञ्चालनमा आइसकेको छैन। स्वास्थ्य उपकरण र सुरक्षा सामाग्रीको व्यवस्था भइनसकेकाले रेफर गर्नु परेको डा. दंगालले बताए।
तीन शय्या क्षमताको बाह्रबिसेको आइसोलेसन भरिइसकेको थियो। त्यहाँ कोरोना आशंकामा तीन बिरामी उपचाररत छन्। ती महिलासँगै अर्को नजिकको आइसोलेसन जिल्ला अस्पताल जानुको विकल्प थिएन। तर कुनै पनि एम्बुलेन्स उनलाई बोक्न तयार भएनन्।
विभिन्न बहानावाजी गरेर एम्बुलेन्स चालकहरु पन्छिए। दिउँसो रेफर गरिएकी महिलालाई बोक्ने एम्बुलेन्स नभेटेपछि वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंका साथमा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ आफ्नै सरकारी गाडी लिएर साँझ खाडीचौर पुगेका थिए।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार वैदेशिक रोजगारीमा ओमान रहेकी ती महिला गत चैत १ गते नेपाल आएकी थिइन्। लिखंखुपारस्थित घर आएको १७ दिनपछि उनीमा रुघाखोकी र ज्वरो देखिएको थियो।
स्थानीय स्वास्थ्य संस्थामा जँचाएर रुघाखोकी र ज्वरोको औषधी खाँदासमेत कम नभएपछि उनी आइतबार बिहान पुनः त्यहाँ पुगेकी थिइन्। स्वास्थ्य संस्थाले उनलाई खाडीचौर पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।