भैरहवा- भैरहवा भन्सार कार्यालयले कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि शुरु भएको लकडाउनको अवधिको १२ दिनमा २९ करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ। भन्सारले चैत ११ गते देखि २२ गतेसम्मको १२ दिनको अवधिमा रु २९ करोड २५ लाख राजश्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ।
भन्सार नाकाबाट लकडाउनमा ग्यास बुलेट १ सय ९९, पेट्रोल ट्याङ्कर ३५, डिजेल ट्याङ्कर १२ र अन्य एक हजार ३१७ मालवाहक ट्रक भन्सार पास भएको भैरहवा भन्सार कार्यालयका कार्यालय प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए।
लकडाउनको अवधिमा चामल, हरियो तरकारी, फलफूल, सर्जिकल तथा मेडिकल सामानहरु, साबुन, प्लाई, कोइला र अन्य समानहरु भारतबाट आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूण्यप्रसाद लम्सालले बताए।
भन्सार कार्यालयको दैनिक राजश्व सङ्कलनको लक्ष्य २६ करोड ६७ लाख रहेको छ। लकडाउनका कारण राजश्व सङ्कलनमा पनि असर परेको सूचना अधिकारी लम्सालले बताए।
भन्सार एजेन्ट सङ्घ भैरहवा शाखाका उपाध्यक्ष मधुप्रसाद पन्थीले खाद्यान्न तथा आलु, प्याज र हरियो तरकारी आउनमा कुनै कमी नआएको बताउँदै बढी भन्सार शुल्क लाग्ने जीप, कार भ्यान, मोटरसाइकल, मार्बल, मोटर पार्टपूर्जा, विद्युतीय सामानहरु र उद्योग कच्चापदार्थहरु नआउँदा भन्सार राजश्वमा कमी आएको बताए।
नेपाल सरकारले भन्सार नाकामा मानिसहरुको आवतजावतमा रोक लगाए पनि ढुवानी भने खुला गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।