काठमाडौं- कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले जिटुजी वा निजी क्षेत्र दुवै माध्यमबाट मेडिकल सामग्री खरिद गर्न सक्ने निर्णय गरेकव छ। आइतबार सिंहदरवारमा बसेको समिति बैठकले विपद् र माहामारीको समय भएकाले औषधि, उपकरणको खरिद सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार जिटुजीबाट विदेशी सरकारबाट किन्न सक्ने र कानुनमा तोकिएकै प्रावधानअनुसार प्रतिस्पर्धात्मक बाटोबाट निजी क्षेत्रबाट खरिद गर्न सक्ने गरी दुवै विकल्प अवलम्बन गर्ने निर्णय गरेको छ।
यसअघि अगाडि बढाइएको खरिद प्रक्रिया विवादित भएपछि सरकारले खरिद ऐनअनुसार जाने निर्णय गरेको हो।
समितिको आइतबार बसेको १७ औँ बैठकले प्रत्यक्षरुपमा सेवामा रहने कर्मचारीको बीमा र सुविधा व्यवस्थित अघि बढ्ने निर्णय पनि बैठकले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।
यसैगरी समितिले अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहत वितरणका मापदण्ड परिमार्जन गर्नुपर्ने देखिएकाले छिट्टै गृहकार्य गरेर परिमार्जन गर्ने निर्णय भएको उनले जानकारी दिए।
यसैगरी प्यासेन्ट रिसिभिङ टिममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको डेडिकेटेड टिमले गर्ने निर्णय पनि आइतबार गरिएको छ। यस्तै १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर जान दिने निर्णय पनि समितिले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।