काठमाडाैं- भारतमा कोरोना भाइरसबारे विवाद हुँदा एक युवकको गोली हानी हत्या गरिएको छ। उत्तर प्रदेशको प्रयागराज जिल्लाको करेली इलाकामा उनलाई गोली हानेर हत्या गरिएको हो।
गोली हान्ने युवालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन्। चिया पसलमा पत्रिका पढ्दा दिल्लीको धार्मिक सभा तबलीग जमातको विषयमा विवाद भएको थियो। विवादकै बीचका बहस गरिरहेका एक युवकले अर्को युवकलाई गाेली हानेका थिए।
प्रत्यक्षदर्शीका अनुसार लोटन निषाद र मोहम्मद सोनाका बीचमा गोली चल्नेसम्मकाे विवाद भएकाे हाे। मोहम्मद सोनाले लोटन निषादमाथि गाेली प्रहार गरेका हुन्।
प्रयागराज जोनका प्रहरी महानिरीक्षक केपी सिंहले चिया पसलमा दुई जनाका बीचमा भएको सामान्य विवादमा गोली चलेको र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए। दुई युवाकाे बीचमा सामान्य वादविवादबाट सुरु भएको थियो।
यो घटनापछि त्यहाँ भारीमात्रमा प्रहरी परिचालन गरिएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा संलग्नलाई कडा कारवाही गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्रीले मृतकका परिवारलाई पाँच लाख आर्थिक सहायता गर्ने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।