काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २० गतेसम्म बोलपत्र भइसकेका तथा दायित्व सिर्जना भएका बाहेक बाँकी बजेट रोकिदिएको छ। मन्त्रालयले आफू मातहत पर्ने ३८ वटा निकायको विनियोजित बजेट रोकेको हो।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले अत्यावश्यक खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै मन्त्रालयले ती निकायको बजेट रोकेको पत्र पठाएको छ। अर्थ मन्त्रालयबाट चैत २० गते प्राप्त पत्रसमेत संलग्न गरेर स्वास्थ्य मन्त्रालयले बजेट रोक्का भएको जानकारी गराएको हो।
अर्थ मन्त्रालयले सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भैपरी आउने चालु खर्च रोक्का राख्न भनेको थियो।
यसैगरी सवारी साधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्यरटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ती प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ती खर्च र भैपरी आउने पुँजीगत खर्चसमेत रोक्न अर्थको पत्रमार्फत् भनिएको छ। यही पत्रको आधारमा स्वास्थ्यले आफू मातहतका निकायको बजेट रोक्का गरिदिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।