सिन्धुपाल्चोक–सिन्धुपाल्चोकमा लकडाउन उल्लंघन गरी क्वारेन्टाइन पुर्याइएका २४ जनालाई शनिबार घर पठाईएको छ। ग्रामीण महिला सिर्जनशीलस्थित क्षेत्रीय क्वारेन्टाईनमा राखिएकालाई स्वास्थ्य जाँच गरी घर पठाईएको हो।
उल्लंघनकर्तालाई सम्वन्धित वडाका अध्यक्षले नियमित स्वास्थ्य जाँच तथा सेल्फ क्वारेन्टाईनमा वस्ने सर्तसहित जिम्मेवारी दिई पठाईएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। राजधानीका विभिन्न ठाउँमा पेशा व्यवसाय गरी बसेको प्रमाण जुटाई कोरोनासँग मिल्दो कुनै लक्षण नभेटिएको चिकित्सकको सिफारिसका आधारमा घर पठाईएको तामाङले जानकारी दिए।
उनीहरुलाई चैत २० गते लकडाउनको नियम मिचेर काठमाडौंबाट बाह्रविसे जाँदै गर्दा तीन वटा वलेरो पिक अपबाट नियन्त्रणमा लिई प्रहरीले क्वारेन्टाईन पुर्याएको थियो। २४ मध्ये एक जना चौतारा साँगाचोकगढी नगरपालिका, एक त्रिपुरासुन्दरी गाउँपालिका र अधिकांश बाह्रविसे नगरपालिकाका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।