काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य प्रभु साहले काठमाडौं बाहिरबाट आएर काठमाडौंमा मजदुरी गर्नेलाई राहतको व्यवस्था गर्न माग गरेका छन्।
काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्रका स्थानीयलाई मात्र राहत उपलब्ध गराएकोप्रति साहले विरोध गरेका छन्। महानगरको विभेदकारी नीतिप्रति दुःख व्यक्त गर्दै संकटको घडीमा सबैलाई राहत उपलब्ध गराउन आग्रह गरेका छन्।
‘कोरोना भाइरसको महामारी रोक्न कुनै निश्चित क्षेत्र मात्रको नभई सिंगो मुलुककै भुमिका आ-आफ्नो ठाउँमा बराबर छ। लकडाउनलाई सफल बनाउन हर कोही आफ्नो ठाउँमा घरमा बसेर सरकारलाई सघाइरहेका छन्।’ साहले भने, ‘काठमाडौंमा लाखौं यस्ता नागरिक छन्‚ जो दैनिक मजदुरी गरेर जीवन निर्वाह गरिरहेका छन्।
त्यस्ता व्यक्तिलाई समेत राहत उपलब्ध गराउनुपर्छ। ’महानगरले बाहिरबाट आएका नागरिकलाई राहत उपलब्ध नगराउने कदमले उनीहरु थप मर्कामा पर्ने साहले बताए। नेता साहले विपदमा स्थानीय, प्रदेश र संघीय सरकारले नागरिकबीच कुनै किसिमको विभेद नगरी सहायता गर्नुको विकल्प नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।