काठमाडौं- कोरोना भाइरस (कोभिड १९) लाई फैलन नदिन पूर्व तयारीका लागि इन्द्रावती गाउँपालिकाले ५० लाख रुपैयाँको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ।
कोरोना रोकथाम कोष नामाकरण गरी गाउँपालिकाले संक्रमण फैलन नदिन रोकथाममा जुटेको हो।
नेपालमा कोरोना संत्रमण देखिनु अगावै गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिन थालेको थियो।
गाउँपालिकामा आफैंसँग कोष खडा गर्न यो रकम पर्याप्त नभएकाले संघीय, प्रदेश र विभिन्न स्रोत जुटाएर कोषको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए।
गाउँपालिकाका अनुसार यो रकम कोरोना रोकथामकै लागि खर्च गरिनेछ ।
गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने जानकारी दिए।
इन्द्रावतीले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पिपिई, सेनिटाइजर, मास्कलगायत सामग्री वितरण गरिसकेको छ। गाउँपालिकामा रहेका स्थानीयलाई पनि सामग्री वितरण भएको उनले जानकारी दिए।
आवश्यक परेको खण्डमा गाउँपालिकाले थप सामग्री वितरण गर्ने पालिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।