काठमाडौं- नेपाली कांग्रेसले व्यापक परीक्षणको विधि अपनाउन सरकारलाई सुझाव दिएको छ।
स्थानीय महिलामा समेत कोरोना भाइरस पोजिटिभ देखिएपछि कांग्रेसले व्यापक स्तरमा परीक्षण गर्न सरकारलाई सुझाएको हो। ‘कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणको व्यापकता बढाउन नेपाली कांग्रेस सरकारलाई अनुरोध गर्दछ।’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
स्थानीयमा देखिनु नेपाल गम्भीरताको दोस्रो चरणमा पुगेको भन्दै सरकारलाई थप सचेत हुन आग्रह गरे। सरकारलाई शर्माको प्रश्न छ, ‘सरकार, अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने? चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतिक्षा गर्ने?’
स्थानीय नै संक्रमित हुनु नेपाल प्रवेश गरेका नागरिकबाट भएकाले गम्भीर सतर्कता समय आएको शर्माले भनाइ छ। यसअघि संक्रमण देखिएका ६ जना विदेशबाट आएका नेपाली थिए।
विगतमा समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गरेको भए खतराको दायरा नबढ्ने उनको बुझाइ छ।
स्थानीयसहित अन्य दुईमा संक्रमण देखिएकाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर व्यापक सतर्कता/परीक्षण र उपचार बढाउन सरकारसँग आग्रह गरे। रत्तिभर हेलचेक्र्याइँको परिणाम भयावह हुनेतर्फ सरकारलाई सचेत बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।