इटहरी- गर्मी मौसम सुरुभएसँगै डेंगु देखापर्न थालेकोछ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा लाग्ने डेंगु रोग धरानमा भेटिएको हो। अघिल्लो वर्षपनि डेंगुको इपिसेन्टर मानिएको धरानमा पुनः नयाँ बिरामी देखा परेका हुन्।
धरान ७ स्थित होटल सन्ध्या इनका स्टाफमा डेंगु भएको पुष्टि भएको छ। केही दिनदेखि टाउको दुख्ने र ज्वरो आउने भएपछि निजी क्लिनिकमा जाँच गराउँदा डेंगु भएको रिपोर्ट आएको हो। टाउको दुख्ने, आँखा दुख्ने र उच्च ज्वरो आएको कारण शंका लागेर चेक गराउँदा डेंगु पुष्टी भएको होटल संचालक रविन अधिकारीले बताए।
गत वर्ष पनि धरानबाट सुरुभएको डेंगु (डेन २)को संक्रमण सबै सहरमा फैलिएको थियो। करिब ३ महिनाको दौरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार बढीले डेंगुको परीक्षण गराएका थिए। त्यसमध्ये २१ सय जनाभन्दा बढी संक्रमित भएकाे पाइएको थियो।
डेंगुका कारण धरानसहित पूर्वका सहरहरु बढी जोखिम मानिन्छन्। डेंगु ज्वरो एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ। इटहरी अस्पतालका अनुसार अघिल्लो वर्ष ३९९ जनाको परीक्षण भएको मध्ये १०७ जना संक्रमित भएकाे पाइएकाे थियाे। त्यो संख्या यसपटक बढ्ने अनुमान गरिएकाे छ।
गत मंसिरमा खनिएका सडकका खाल्डाहरु अहिलेसम्म पुरीएका छैनन्। ६ लेन सडक विस्तारको क्रममा ड्रेन निमार्णकाे काम रोकिएको छ। समयमै पैसा नआएको भन्दै ठेकदारले काम अगाडि बढाएका छैनन्। जथाभावी निमार्ण सामग्री राख्ने र समयमै निमार्ण कार्य पूरा नगर्दा संक्रमणको सम्भावना बढीरहेको हाे।
गर्मी मौसम बढ्दै गइरहेको अवस्थामा एडिस एजिप्टाई नामक लामखुट्टेको सक्रियता पनि बढ्ने गर्छ। कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा बस्ने र फुल पार्ने गर्छ।
डेगुं संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा डेंगुको संक्रमण हुन्छ। डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र संक्रमण हुने गरेको बिपी प्रतिष्ठानका डाक्टर विकाश शाहले बताए।
उनका अनुसार संक्रमितलाई कडा ज्वरो आउने, आँखाको गेडी रातो हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तश्राव हुने, जोर्नी, मांसपेशी र हड्डी दुख्ने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखापर्छन्। डेंगुको शंका लाग्ने वित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गराउने र कम्तीमा ७ दिनसम्म झुलभित्रै आराम गर्न उनले सुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।