एजेन्सी–यही हिसाबले संक्रमण दर बढ्दै जाने हो भने जापानको टाकियो अर्को न्यूयोर्क हुने चेतावनी विज्ञहरुले दिएका छन्। सीएनएनका अनुसार गत साता ४० संक्रमितबाट दोब्बर भएर ९७ पुगेपछि यो आँकलन गरिएको हो।
‘यदि यही हिसाबले नयाँ संक्रमण बढ्दै जाने हो भने अवस्था स्पष्ट छ,’ जापानको कोबे विश्वविद्यालयका संक्रमण नियन्त्रण विशेषज्ञ केन्तारो इवाताले भने। उनले कोरोना भाइरस नियन्त्रणका लागि जापानले आवश्यक तयारी नगरेको भन्दै चेतावनी दिँदै आएका छन्।
‘हामी गलत दिशातर्फ जाँदैछौं भनेर थाहा छ भने जापानले आफूलाई परिवर्तन गर्ने साहस देखाउनुपर्छ,’ इवाताले भनेका छन्, ‘हामीले टोकियोलाई अर्को न्यूयोर्कका रुपमा देख्न सक्छौं।’
अमेरिकाको न्यूयोर्क कोरोना भाइरसको अर्को इपिसेन्टर बनेको छ। त्यहाँ हरेक ५ दिनमा नयाँ संक्रमण दर दोब्बर भइरहेको छ भने हालसम्म मृतकको संख्या ३ हजारको हाराहारीमा पुगेको छ।
जापानमा शुक्रबारसम्म ३ हजार ३ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ७४ जनाको मृत्यु भइसकेको छ।
विशेषज्ञ इवाताका अनुसार टोकियोमा संक्रमण फैलने दर स्पेन, फ्रान्स, इटाली र न्यूयोर्क सिटीमा सुरुवाती दिनमा जस्तै देखिएको छ। उनले परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्नेमा पनि जोड दिएका छन्। शुक्रबारसम्म टोकियोमा १ करोड ३५ लाख जनसंख्यामध्ये जम्मा ४ हजार जनाको मात्र परीक्षण भएको छ भने देशको कूल जनसंख्या १२ करोड ५० लाखमा ३९ हजार ४ सय ६६ जनाको परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।