राजविराज– कोरोना भाइरस (कोभिड १९)को आशंकामा परिक्षणका लागि धरान पठाइएका ९ वटै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ। सप्तरीका सबै ९ वटै नमुना नेगेटिभ आएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले जानकारी दिएको छ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बिहीबार अस्पतालले नमुना संकलन गरी परीक्षणका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो।
गत चैत ४ गते कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका १ र भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भइ घर फर्किएका राजविराज नगरपालिकाका ८ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको नतिजा नेगेटिभ भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।
स्वाब संकलन गरी ९ जनालाई नै पुनः क्वारेन्टाइनमा पठाइएको थियो।
हालसम्म कतारबाट एउटै फ्लाइटमा काठमाडौं आएका ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। नेपालमा हालसम्म ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। ५ जना उपचाररत छन् भने एक जना निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।