काठमाडौं- कोरोना भाइरस (कोभिड १९)सँग जुध्न सरकारले गरिरहेका प्रयत्नहरुलाई परिणाममुखी र प्रभावकारी नभएको नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले बताएका छन्।
संक्रमण फैलन नदिन गरेका सरकारले गरेका कार्य प्रभावकारी र प्रभावकारी नहुँदा सरकारको विश्वसनियतामाथि नै प्रश्न उठेको कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीसंँग जुध्नको लागि सरकारले गरेका तयारी र कामको एकपटक समिक्षा गर्न उनले आग्रह गरेका छन्।
विवादास्पद स्वास्थ्य उपकरणहरुको खरिद प्रक्रिया मार्फत भएको आर्थिक अनियमितता छानविन गर्न माग गरेका छन्। अन्य रोगका बिरामीहरुले उपचार नपाउने स्थिति पैदा भएको भन्दै कोइरालाले सरकारको ध्यानाकर्षण गराएका छन्।
ठेक्काको खरिद प्रक्रियामा अनियमितता प्रकरणसँगै अवरुद्ध भएको खरिद प्रक्रियाले सरकार जहाँको त्यहीँको स्थितिमा पुगेको जनाए। सेनालाई मेडिकल सामग्री खरिद गर्न दिने प्रक्रियाले वर्तमान प्रणाली कमजोर हुने उनको तर्क छ।
पूर्व चिकित्सक समेत रहेका डा कोइरालाले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन नसक्नु सरकारको ठूलो कमजारी भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
सरकारले घोषणा गरेको राहत वितरणको लागि स्थानीय सरकारको भूमिका नै प्रभावकारी हुने भएकाले तत्काल स्थानीय निकायमा राहत सामाग्री पठाउन सरकारसँग आग्रह गरे।
स्वदेश प्रवेश गर्न नपाएका अलपत्र नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने गरी प्रवेश गराउन सरकारसँग आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।