काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारबाट लागू हुनेगरी लकडाउन अवधिभर खुद्रा बजार बन्द गर्ने निर्णय गरेको छ। गत आइतबारबाट बेलुका ५ देखि ७ बजेसम्ममात्र खुलिरहेको खुद्रा बजार अब पूर्ण रुपमा बन्द गर्न लागिएको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अब बजारभित्र सर्वसाधारण उपभोक्ता प्रवेश पाउने छैनन्। थोक व्यापारीलाई मात्रै कारोबार गर्ने गरी बजार खुला रहने समितिले जनाएको छ।
बजार क्षेत्रभित्र हुने भिडभाडलाई कम गरी सामाजिक दूरी कायम गर्नका लागि उपाय अपनाउन भन्दै गत आइतबार कालीमाटी बजार फलफूल तथा तरकारी बजार विकास समिति, स्थानीय निकाय, सुरक्षा निकाय तथा सरोकारवालाहरुसहितको संयुक्त बैठकले कालीमाटी बजारको थोक बजारको कोराबार गर्ने समयावधि बिहान २ वजे देखि बिहान ७ बजेसम्म र खद्रा बजारको कारोबार तथा कृषक बजारको लागि बेलुका ५ वजे देखि बेलका ७ बजेसम्म तोकिदिएको थियो।
तर खुद्रा व्यापारका लागि तोकिएको समयमा बढी भिडभाड हुन थालेपछि समितिले अब खुद्रा उपभोक्तालाई फलफूल र तरकारी किन्न कालिमाटी नआउने भनेको हो।
त्यस्तै कालीमाटी बजारभित्र थोक कारोबारमा संलग्न व्यवसायीहरुले कृषि उपजहरुको कारोबार गर्दाजस्तो अवस्थामा प्याकेजिङ्ग भएर आएको छ‚ सोही अवस्थामा प्याकेज नखोलीकन कारोबार गर्नुपर्नेछ।
व्यापारीहरुले तरकारी तथा फलफूलको खुल्ला बिक्रि वितरण गर्न पाउने छैनन्। समितिले यसअघि नै बजारभित्र भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।