बहराइन- वैदेशिक रोजगारीका लागि बहराइन पुगेका १२ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी यसको पुष्टि गरेको हो।
२ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण देखिएको र त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ। ३ सय ८१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ।
केही समयअघि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो। तीमध्ये बिहीबार ९ नेपालीमा संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ। यसअघि संक्रमण देखिएका ३ सहित बहराइनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।
एकै पटक ठूलो संख्यामा नेपालीहरू संक्रमित भएपछि नेपालका विभिन्न ठाउँबाट बहराइन पुगेका नेपाली त्रसित बनेका छन्। बहराइनमा करिब २० हजार नेपाली कार्यरत रहेको त्यहाँ कार्यरत एक नेपालीले बताए।
बहराइन सरकारले संक्रमण नियन्त्रणमा नआएसम्मका लागि ५ जना वा सोभन्दा बढी भेला हुन तथा पार्क र सार्वजनिक स्थलमा घुम्न निषेध गरेको छ। १२ मार्च २०२० मा जारी सरकारी सूचनामा क्वारेन्टाइन अवज्ञा गरेको पुष्टि भए ३ महिना जेल र बहराइन डिनार १ हजार देखि १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने जनाइएको छ।
हाल बहराइनमा बजार, पसल, शैक्षिक संस्था, जिम, स्विमिङ्ग पुल, सभा, समारोह बन्द छन् भने होटल, रेन्टुरेन्टवाट डेलिभरी सेवा मात्र उपलब्ध छ। नेपाली दूतावासले कुनै समस्या भए नेपाली दूतावसका नेपाली कर्मचारीलाई सम्पर्क गर्न सूचित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।