काठमाडौं- विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरस (कोभिड- १९)बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ। घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा बिस्फोटक पदार्थलगायत अन्य विविध घटनाबारेमा प्रयोगकर्ताहरुबाट जानकारी प्राप्त गर्न सकिने ‘नेपाल पुलिस मोबाइल एप’ संचालनमा ल्याइएकाे हाे।
हाल उक्त एपलाई अपडेट गरेर कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न भएको विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनको अवस्थामा लकडाउन उल्लंघन भएमा, कालोबजारी भएमा, आफू वा छर छिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना, जानकारी एपमार्फत् दिन सकिनेछ।
गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट आफ्नो स्मार्ट फोनमा उक्त एप डाउनलोड गरी कोभिड- १९ सम्बन्धी सूचना एवं जानकारी दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।