काठमाडाैं- कोभिड- १९ (काेराेना भाइरस)का कारण स्वदेश फर्कने क्रममा सीमामा अत्रपत्र परेका सयौं नेपाली नागरिकलाई तत्काल सम्मानपूर्वक नेपाल भित्राउन वकिलहरुले माग गरेका छन्। संवैधानिक कानुन व्यवसायीहरुको संगठन संवैधानिक कानुन व्यवसायी मञ्च (क्ल्याफ)ले यस्ताे माग गरेकाे हाे।
क्लाफले विज्ञप्ति जारी गरेर नागरिकप्रतिको संवैधानिक अधिकारको सम्मान गर्न माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। विश्वव्यापी महामारीबाट जनताको सार्वजनिक स्वास्थ्यमा पर्नसक्ने असरलाई रोक्न सरकारले गरेकाे लकडाउन प्रशंसनिय भएपनि सार्वभौम नेपाली नागरिकहरुको स्वदेश प्रवेशमा रोक लगाउने कार्य संवैधानिक नभएको क्लाफले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
अन्तर्राष्ट्रिय मानवअधिकार कानुनद्वारा प्रत्याभूत देश निकाला विरुद्धको हक, आवतजावतको स्वतन्त्रता, अविभेद र समानताको हक, सम्मानपूर्वक बाँच्न पाउनेलगायत स्वास्थ्य, खाद्य र आवाससमेतका हकहरुबाट राज्य पन्छिन नमिल्ने विज्ञप्तिमा उल्लेख छ।
विश्व स्वास्थ्य संगठनको मान्यतासमेतलाई मध्यनजर गरी उनीहरुलाई नेपाल प्रवेश दिन र अनिवार्य क्वारेनटाइनमा राख्न माग गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।