काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मेडिकल खरिद प्रक्रियामा सेनालाई अघि सारिएकोप्रति आपत्ति जनाएका छन्।
मेडिकल सामग्री खरिदका लागि दुई देशका सरकारबीचको खरिद प्रक्रिया (जिटुजि) हुन नसकेसँगै सेनालाई जिम्मेवारी दिइएको छ। विश्वासको संकट बढेको बताउँदै पौडेलले भनेका छन्, ‘सबै कुरा अब सेनालाई दिनुपर्ने। ठेक्कापट्टामा अरुलाई अविश्वास गरेर त्यसमा पनि सेनालाई जिम्मेवारी दिइएको छ।’
मेडिकल सामग्री खरिदमा पनि अन्य पक्षलाई अविश्वास गरेर सेनालाई जिम्मेवारी दिइएको भन्दै उनले असन्तुष्टि देखाए।उनले भने,‘सेनालाई जिम्मेवारी दिएपछि राज्य सञ्चालकहरु सुरक्षित ठान्छन्। सेनाले गरेपछि अख्तियारले हेर्न पाउँदैन,जे गरे पनि हुन्छ भन्ने परेको छ।’
फेसबुक लाइभमा बोल्दै नेता पौडेलले हाल देखिएको मनोवृत्ति बेइमानीपूर्ण भएको जिकिर गरे। कांग्रेस नेता पौडेलले मन्त्रिपरिषद बैठकका निर्णय र सरकारका प्रवक्ताको बोलीसमेत फरक–फरक आएको बताए। उनले भने, ‘मन्त्रिपरिषदले गरेको निर्णय भनि प्रवक्ताको एक प्रकारको बोली आएको छ। भोलिपल्ट क्याबिनेटको निर्णयमा अर्कै कुरा देखिन्छ।’
खरिद प्रक्रियामा हेराफेरि भएको उनले बताए। साथै,आएका सामान पनि अधुरो आएको उनको भनाइ छ। उनले सरकारी प्रक्रियाप्रति आपत्ति जनाउँदै भने,‘असावधानी भएको छ। राज्य गैरजिम्मेवार देखिएको छ।’
राष्ट्रिय सहमतिको सरकारको अभिव्यक्ति दिएपछि पार्टीभित्रै विवादमा परेका नेता पौडेलले आफ्नो बोलीलाई गलत व्याख्या गरिएको बताए। राष्ट्रिय सहमतिको आवश्यकता रहेको तत्कालीन समयमा बोलेको उनले स्पष्टिकरण दिए।
अत्यावश्यक सामग्री उत्पादन र किसानलाई खेतिपातीका लागि लकडाउनले अवरोध नगर्ने सरकारी निर्णय सकारात्मक भएको पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।