काठमाडौं- मेडिकल सामाग्री खरिदको जिम्मेवारी सेनालाई दिने मन्त्रिपरिषदको निर्णयको सत्तारुढ दलका नेताबाट विरोध भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा विभाग विभाग उप प्रमुख विष्णु रिजालले एक पछि अर्को कार्यमा सेनालाई जिम्मेवारी दिँदा प्रणाली कमजोर हुने बताए।
नेता रिजालले ट्विटमार्फत सरकारलाई सचेत गराउँदै लेख्छन्, ‘सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिने/दिने दुबैलाई राम्रै लाग्ला तर हाम्रो प्रणाली कमजोर हुन्छ।’
दैवी प्रकोप, बाटो निर्माण तथा अन्य कार्यमा सेनालाई अघि सार्दा त्यसले नकरात्मक असर गर्ने नेता रिजालको बुझाई छ। सरकारले सेनालाई दिएका जिम्मेवारीमा सेनाकै काम नै नभएको उनले बताए।
एक पछि अर्को कार्यमा सेनालाई अघि सार्ने प्रक्रिया प्रति उनले असन्तुष्टि जनाएका छन्। ‘हुरीबतास आयो, घर बनाउने जिम्मा सेनालाई। महामारी आयो, औषधि किन्ने जिम्मा सेनालाई। ठूलो बजेट भयो, बाटो बनाउने जिम्मा सेनालाई’, दिर्घकालीन रुपमा सोच्न आग्रह गर्दै लेख्छन्, ‘यो सेनाको यो कामै होइन। दीर्घकालीन रुपमा सोचौँ।’
आइतबारको मन्त्रिपरिषदको बैठकले मेडिकल सामग्री ल्याउने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो। सेनालाई दिने प्रस्ताव मन्त्रिपरिषद बैठकमा नल्याइए पनि पछि छिराइएको बताइएको छ। जि टु जी माध्यमबाट सेनाले सामान खरिद गर्ने प्रस्ताव बारे मन्त्रीहरुलाई समेत थाहा नभएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।