नयाँ दिल्ली- छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। भारतमा हालसम्म संक्रमितको संख्या २ हजारभन्दा बढी भइसकेको छ। ५८ जनाले ज्यान गुमाएका छन्। भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ४ सय १६ बिरामी भेटिएका छन्। दिल्लीमा २ सय १९ जनामा फैलिएको छ। उत्तर प्रदेश‚ मध्यप्रदेशलगायत राज्यमा पनि एक सयभन्दा बढी संक्रमित भइसकेका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ सय २८ नयाँ बिरामी फेला परेका छन्। पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै मुम्बईमा देखापरेको छ। महाराष्ट्रमा मात्र पछिल्लो २४ घन्टामा ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। त्यसमा सबैभन्दा धेरै देशको आर्थिक राजधानी मुम्बईमा फेला परेको छ। मुम्वईमा २४ घन्टामा ५७ जना नयाँ बिरामी फेला परेका छन्। तीन जनाले ज्यान गुमाएका छन्। मुम्बईमा मात्र २ सय ३८ जना कोरोना संक्रमित रहेको पाइएको छ।
मोदी सम्बोधन गर्दै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशवासीको नाममा फेरि भिडियो सन्देश जारी गर्ने तयारी गरेका छन्। मोदी सरकारले २१ दिन लामो लकडाउन देशव्यापी रुपमा लगाइरहेको छ। मोदीले कोरोना भाइरसको संत्रास फैलिएपछि चौथो पटक सम्बोधन गर्न लागेका हुन्। मोदीले बिहीबार टुइट गर्दै देशबासीको नाममा सम्बोधन गर्न लागेको बताएका हुन्। मोदीले लकडाउनलाई लिएर सम्बोधन गर्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।