काठमाडौं- सरकारले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले कृषिका काम, उद्योग र ठूला आयोजना सञ्चालनका विषयमा केही सहज व्यवस्था गर्ने निर्णय गरेको छ।
समितिको बैठकबारे जानकारी दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले बाहिरका श्रमिकलाई प्रवेश नदिइ माथिल्लो तामाकोशी जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने निर्णय गरेको छ।
यसैगरी हिउँदे बाली काट्ने तथा धान रोप्ने समय भएकाले स्थानीय तहले कृषि कार्यमा अवरोध नपुर्याटउने निर्णय गरेको पनि खतिवडाले जानकारी दिए।
यसैगरी सरकारले खाद्यान्न तथा अन्य वस्तु उत्पादन गर्ने उद्योगले श्रमिकहरुलाई सुरक्षित व्यवस्थाका साथ कार्यालयभित्रै राखेर उद्योग सञ्चालन गर्न चाहेमा अनुमति दिने निर्णय गरेको पनि उनले बताए।
'हामीले अहिलेसम्म गरेका काम र मन्त्रिपरिषदको पछिल्लो निर्णयबाट स्थापना भएको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सिस्टम (सिसिएमसी)सँग सामञ्जस्यता साथ काम गर्ने विषयमा छलफल भयो,' उनले भने, 'स्वास्थ्य उपचार, सामग्री आपूर्ति, लजिस्टिक, शान्ति सुरक्षा र सूचना प्रविधिका विषयमा समितिले कार्यदल बनाएर काम गर्ने विषयमा छलफल भयो।'
यसैगरी अत्यावश्यक वस्तु ढुवानीलाई अझ सहज गर्ने निर्णय पनि समितिले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।