काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन थालेको छ। खरिद प्रकरणमा सञ्चार माध्यममा आएका समाचारको बारेमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको अख्तियारले जनाएको छ।
बिहीबारदेखि उजुरीमाथि छानबिन थालेको अख्तियारले दिउँसो श्रेष्ठसँग अनौपचारिक रुपमा सोधिएको अख्तियार स्रोतले जनाएको छ। ‘यो प्रारम्भिक छानबिन हो, त्यसैले बयान भन्ने शब्द प्रयोग नगरौं’ स्रोतले भन्यो‚ ‘उहाँसँग सोधपुछ गरिएको हो।’
उजुरीका साथ प्राप्त प्रमाण आयोगले हेर्ने र थप कागजातहरु मन्त्रालयबाट पनि मागाएर थप अनुसन्धान हुने ती स्रोतले बतायो। अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले भने सञ्चार माध्यममा आएका कुरामाथि अख्तियारले सोधपुछ गर्ने समान्य प्रक्रिया भएको बताए। आयोगको गम्भीर ध्यानाकर्षण भएकाले यसमा आवश्यक सबैलाई बयान लिने र कागजात लिने उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।