काठमाडौं- मन्त्रीहरुले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक महिनाको तलब प्रदान गर्ने भएका छन्। उक्त पैसा मन्त्रीहरुको तलबबाट स्वतः काटिने व्यवस्था गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।
कोरोना रोगको नियन्त्रण तथा उपचारको लागि सरकारले राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न मिल्ने व्यवस्था गरेको छ। सरकारले पछिल्लो समय उक्त कोषमा सम्पुर्ण सार्वजनिक संस्थानहरू, निजी क्षेत्रका संस्थाहरु, सामाजिक संस्थाहरु, व्यवसायिक क्षेत्रका विभिन्न नियकालयलाई पैसा जम्मा गर्न आह्वान गरेको खतिवडाले जानकारी दिए।
कोषमा जम्मा भएको पैसा कहाँ-कहाँ‚ कसरी खर्च गर्ने भनेर कार्यविधि तयार पारिएको खतिवडाले जानकारी दिए। सरकारले कोष सञ्चालनसम्बन्धि कार्यविधि बनाएर खर्चको व्यवस्थापन गर्ने भएको हो।
उक्त कार्यविधिअनुसार कोरोनासँग सम्बन्धित औषधि खरिद, औषधीसम्बन्धि उपकरण खरिद, त्यससँग सम्बन्धित क्वारेन्टाइन केन्द्रको व्यवस्थापन, अस्पतालहरुको उपकरणहरु र कतिपय अस्पतालको उपकरणको स्तरोन्नतीका लागि खर्च हुनेछ।
कोषको रकम कोरोनाबाट संक्रमित हुने सम्भावित व्यक्तिहरुलाई निःशुल्क उपचारका लागि खर्च हुने अर्थमन्त्रीले जानकारी दिए।
कोरोना कोषको पैसा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर राखिएको खतिवडाले बताए। उक्त खाताको सञ्चालन तथा व्यवस्थापन महालेखा नियन्त्रणको कार्यालयबाट हुनेछ।
यस कोषको पैसा खर्च गर्ने निकायले अर्थमन्त्रालयलाई पत्र लेखेर जानकारी गराउनु पर्नेछ। अर्थमन्त्रालयले निकासाको आदेश दिएपछि महालेखा नियन्त्रकको कार्यलयबाट भुक्तानीको लागि निकासा हुने खतिवडाले जानकारी दिए। खतिवडाले भने‚ 'जहाँ जहाँ कोरोनासँग सम्बन्धित समस्याहरु हुन्छन्‚ ती सबै समस्याहरुलाई हामीले संबोधन गर्न वित्तीय व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ।'
सरकारले मानवीय व्यवस्थापन गर्नुका साथै सामाजिक बचावटका काम गरिरहेको खतिवडाले बताए। यसका लागि वित्त पनि चाहिने भएकाले सरकारले सञ्चालन विधि बनाएको हो।
कोषबाट भएको खर्च सबै पारदर्शी ढङ्गले मन्त्रीपरिषदकै कार्यालयबाट सार्वजनिक हुने र अर्थमन्त्रालयबाट सम्पुर्ण जानकारी दिनेछ। यो खाता विधिवत ढङ्गले सञ्चालन गरिने सरकारले जनाएको छ। यस कोषमा विश्वासका साथ पैसा जम्मा गर्न खतिवडाले सबैलाई अनुरोध गरे। उनले भने‚ 'यसलाई विश्वासका साथ यहाँहरु सबैले सहयोग गर्नुहुन्छ र त्यसको पूर्ण सदुपयोग हुनेगरी सरकारले उपयोग गर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।