काठमाडौं- सेन्झेंन कुकुर र बिरालाको मासु बिक्री र उपभोगमा प्रतिबन्ध लगाउने पहिलो चिनियाँ सहर भएको छ।
बिबिसीका अनुसार यो निर्णय कोरोना भाइरस प्रकोपलाई चीनको जंगली जीवजन्तुको मासुसँग जोडेपछि भएको हो।
यो नियम आउने मे महिनाको १ तारिखदेखि लागू हुनेछ। एसियाभर करिब ३ करोड कुकुर‚ मासुका लागि मारिने बताइन्छ। यद्यपि कुकुरको मासु खाने प्रचलन चीनमा खासै छैन। धेरैजसो चिनियाँहरुले कुकुरको मासु खाँदैनन्।
गत फ्रेब्रुवरीमा चिनियाँ अधिकारीहरुले जंगली जीवको व्यापार र उपभोगमा प्रतिबन्ध लगाएका थिए।
चीनको वुहान सहरमा जंगली जीव र उनीहरुको मासु बिक्री हुने बजारबाट नयाँ कोरोना भाइरसको उत्पति भएको र जनावरबाट मानिसमा सर्ने माध्यम नै यही भएको ठानिएपछि चीनले यस्तो निर्णय गरेको थियो।
तर, वैज्ञानिकहरु अझै पनि कोरोना भाइरसको स्रोत के हो र यो मानवमा कसरी फैलियो भन्ने तथ्यनजिक पुग्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।