काठमाडौं- सरकारले आफूले ल्याएको र्यापिड टेस्ट किट चीनमा प्रयोगयोग्य भएको दाबी गरेको छ। पछिल्लो समय सो किट विवादमा आएपछि मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्कीले विज्ञप्ति जारी गर्दै प्रष्ट पार्ने प्रयास गरेका हुन्।
‘सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेस्ट किट सरकारले प्रमाणित गरेको किट हो’, विज्ञप्तिमा उल्लेख छ।
एकैपटक हजारौं टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेस्ट किट प्रयोग गर्नुपरेको मन्त्रालयले जनाएको छ। विज्ञप्तिमा अहिले युरोप, अमेरिकाले पनि यही विधि मार्फत नै परीक्षण गरिरहेको उल्लेख छ।
मन्त्रालयका विज्ञ सल्लाहकार कार्कीले सरकारले ल्याएको र्यापिड टेस्ट किटको गुणस्तर निक्र्यौल भएपछि मात्रै प्रयोग हुने विज्ञप्ति मार्फत जनाएका छन्।
र्यापिड टेस्ट किट अनाधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको समेत जनगुनासो आएको उनले उल्लेख गरेका छन्। अनाधिकृत स्रोतबाट बजारमा वितरण र प्रयोग भइरहेको जन गुनासो आएपछि त्यस प्रकारका किट प्रयोगमा रोक लगाइएको मन्त्रालयले जनाएको छ।
सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको मन्त्रालयले जानकारी गराएको छ। परिषदले योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्रै वितरण हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।