एजेन्सी–अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख १३ हजार पुगेको छ। जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ७ सय ४५ पुगेको छ।
सीएनएनका अनुसार अमेरिकामा बुधबार एकैदिन ९ सय १७ जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमण सुरु भएयता एकैदिन यति धेरै संख्यामा मृत्यु भएको हो।
यसअघि मंगलबार ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी निर्देशिका कार्यान्वयन गर्दा पनि अमेरिकामा १ लाख देखि २ लाख ४० ह जारसम्म मानिसको मृत्यु हुनसक्ने आँकलन गरिएको बताएका थिए। सामाजिक दूरी कायम नगरिँदा त्यसभन्दा बढी मानिसको मृत्यु हनसक्ने ह्वाइटहाउसका अधिकारीहरुको भनाइ थियो।
ट्रम्पले विभिन्न राज्यमा कोरोना भाइरस संक्रमणको दर विभिन्न तहमा रहेकाले देशभर लकडाउन नगरिने बताएका छन्। तर बढी प्रभावित क्षेत्रमा उडान भने रोक्न सकिने उनको भनाइ छ।
संक्रमित सबैभन्दा धेरै न्यूयोर्कमा देखिएका छन्। गभर्नर एन्ड्रयु कुओमोले बाँकी राज्यको स्थिति पनि भयावह हुनसक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।