काठमाडौं- नेपाल टेलिकमले जिएसएम मोबाइल डेटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सिडिएमए मोबाइल डेटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ। नेपाल सरकारले डेटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरेसँगै बिहीबारदेखि एक सातासम्म लागू हुनेगरी यस्तो व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
योसँगै अब जिएसएम मोबाइल डेटा र सिडिएमए मोबाइल डेटामा प्रतिएमबी करसहित क्रमशः ९० पैसा र ५१ पैसा महसुल लागू हुने टेलिकमले जनाएको छ।
जसअन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जिबी डेटा खरिद गर्दा ३ जिबी बोनसस्वरुप प्राप्त हुने र प्राप्त भएको बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्न प्रयोग गर्नुपर्ने टेलिकमले जानकारी दिएको छ। यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयाँमा २ जिबी डेटा खरिद गर्दा ८ जिबी डेटा बोनसस्वरूप प्राप्त हुने र प्राप्त भएको बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गर्न प्रयोग गर्नुपर्ने कम्पनीले बताएको छ।
यसैगरी आफ्नै नेटवर्कभित्र भ्वाइस कल गर्न जिएसएम र सिडिएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा बिहीबारदेखि एक सातासम्म लागू हुनेगरी ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरेको टेलिकमले जनाएको छ।
त्यसैगरी ‘यूएसएसडी’ र ‘नेपाल टेलिकम एप’बाट खरिद गर्न सकिने डाटा तथा भ्वाइस प्याकहरु ‘स्टे कनेक्टेड’ अफरको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ। ‘यूएसएसडी’बाट खरिद गर्न *१४१५*१०# डायल गर्नुपर्ने टेलिकमले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।