फाइल तस्बिर
काठमाडौं- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पुष्पकमल दाहालबीच बुधबार भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वयबीच भेटघाट भएको हो।
चीनबाट खरिद गरिएको स्वास्थ्य उपकरण र औषधि विवादित भएपछि ओली प्रचण्डबीच भेट भएको बालुवाटार स्रोतले जनाएको छ।
कोरोना उपचारका लागि भन्दै ओम्नी ग्रुपको ओबिसिआईसँग गरिएको सम्झौता विवदित भएपछि बैठकले रद्द गर्ने निर्णय गरेको थियो। उनीहरुबीच भएको छलफल लगत्तै स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले ओम्नीसँग खरिद गर्ने भनेर ल्याइएका मेडिकल उपकरण खरिद सम्झौता रद्द गरिएको जानकारी दिएका थिए।
स्वास्थ्य उपकरण नेपालबाट चीनका लागि जहाज काठमाडौंबाट चीन प्रस्थान गरेलगत्तै व्यापारीको सामान लिन सरकार नै जमानी बसेर राष्ट्रिय ध्वजाबाहक जहाज चार्टर गरिएको भन्दै विवाद सुरु भएको थियो। प्रचलित बजारमूल्यभन्दा अत्यधिक महंगोमा खरिद गर्ने सम्झौता भएका सामग्री किन्न सरकार नै लागिपरेको भन्दै व्यापक आलोचना भएको थियो। मेडिकल व्यवसायीसमेत नभएको र सम्बन्धित निकायमा समेत दर्ता नभएको भन्दै आलोचना चुलिँदै गएको थियो।
नेताद्वयको भेटबाटै चीनबाट ल्याइएका मेडिकल सामग्री खरिदको सम्झौता रद्द गर्ने प्रक्रिया सुरु भने भएको होइन। मन्त्रालयका उच्च अधिकारीहरूलगायतको बैठकमा सोमबार नै रद्द गर्ने विषयमा प्रारभ्मिक छलफल भएको बुझिएको छ।
नेताद्वयबीचको बैठकमा दार्चुलालगायत भारतीय सीमामा रहेका नेपालीको समस्याका विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
यसका साथै कोरोनाका कारण लकडाउन भएपछि गरिब तथा विपन्न परिवारका लागि राहत प्याकेजका विषयमा पनि छलफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।