काठमाडौं- सरकारले लकडाउन अवधिमा स्थानीय तहले वितरण गर्ने खाद्य तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी राहत सामाग्री वितरणमा मापदण्ड बनाउने भएको छ।
दैनिक आय गरी जीवनयापन गर्ने तथा विपन्न वर्गका उपभोक्तालाई दैनिक अत्यावश्यक खाद्य वस्तुहरु सरल, सहज रुपमा एकै किसिमको मापदण्ड बनाई उपलब्ध गराउने उद्देश्यले यस्तो मापदण्ड बनाउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
खाद्य सामाग्री वितरण गर्ने सम्बन्धी मापदण्ड बनाउने विषयमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले काठमाडौं महानगरपालिका प्रमुख, ललितपुर महानगरपालिका र मध्य भक्तपुर ठिमी नगरपालिकाका प्रमुखसँगको छलफलपछि यस्तो निर्णय भएको हो।
कोरोना भाइरस संक्रमणको त्रासका कारण ‘कोभिड १९’ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनसम्बन्धी आदेशका कारण विपन्न वर्ग र दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुका लागि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको वितरणका लागि मापदण्ड बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।
यस्ता छन् बुधबारको छलफलपछि गरिएका निर्णयः
१. काठमाडौं उपत्यकाभरि एकै रुपको खाद्य सामग्रीको मापदण्ड तयार गरी नगरपालिका स्थानीय तहहरुले सोही मापदण्डबमोजिम राहत वितरण गर्ने।
२. नगरपालिकाहरुको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सो बमोजिमको खाद्य सामग्री उपलब्ध गराउने।
३. राहत वितरणको व्यवस्था सम्बन्धित वडाले संकलित तथ्यांकका आधारमा गर्ने।
४. उपत्यका बाहिरका स्थानीय तहहरुले समेत सोही मापदण्डलाई आधार मानी राहत वितरणको व्यवस्था गर्न सक्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।