काठमाडौं- बुधबार पनि नेपालमा नयाँ कोरोना भाइरस संक्रमित भेटिएनन्। पछिल्लो चौबिस घन्टामा ७३ जनाको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको छ। उक्त परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले नियमित कोरोना ब्रिफिङका क्रममा नयाँ कोरोना नभेटिएको जानकारी दिएको हो।
मन्त्रालयका डा विकास देवकोटा बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। मंगलबारको ब्रिफिङका क्रममा डा देवकोटाले नेपालमा १ हजार ६० जनाको कोरना परीक्षण गरेको जानकारी दिएका थिए।
नेपालमा हालसम्म पाँचजना मात्र कोरोना संक्रमित भेटिएका छन्। पाँच जनामध्ये एक जना उपचारपछि निको भइसकेका छन्। ४ जनाको उपचार भइरहेको छ।
उपचारमा रहेकाहरुको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको डा देवकोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।