काठमाडौं– अन्तर्राष्ट्रिय अधिकारवादी संस्था ह्युमन राइट्स वाचले स्वदेश फर्कन पाउने आफ्ना नागरिकको हक हनन् गर्न नमिल्ने बताएको छ। वाचकी दक्षिण एसिया निर्देशक मिनाक्क्षी गाङ्गुलीले मंगलबार नेपाली आप्रवासी कामदारको अवस्थाबारे उल्लेख गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले चालेका कदमले उनीहरुको आधारभूत अधिकार खोसिन नहुनेमा जोड दिएकी छन्।
‘नेपाल सरकारले कोभिड–१९ महामारीका दौरान आफ्ना नागरिकलाई सुरक्षित राख्नका लागि ठूलो चुनौतीको सामना गर्नुपरिरहेको छ, ‘संस्थाले भनेको छ, ‘तर यो प्रक्रियाले नागरिक घर आउने अधिकारबाट बञ्चित हुनु हुँदैन।’ सस्थाले भारत, खाडी देशहरू र मलेसियामा नेपाली आप्रवासी कामदारहरू कठिन परिस्थितिमा रहेको पनि उल्लेख गरेको छ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने भन्दै सरकारले मार्च २२ मा चीन र भारतसँगका सीमा बन्द र अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिबन्धको घोषणा गरेको थियो। संस्थाले महाकाली नदीपारि धार्चुलामा अलपत्र परेका ५ सय नेपाली र युएईमा कार्यरत नेपाली समस्यामा परेको विषयमा पनि चर्चा गरेको छ।
क्वारेन्टाइनको सुविधा कम भएका कारण नेपाल सरकारले आफ्ना नागरिकलाई फर्किन नदिएको भन्दै संस्थाले उनीहरुलाई फर्काउन तुरुन्त कदम चाल्नुपर्ने बताएको छ। ‘नेपाल सरकाले तुरुन्त कदम चाल्नुपर्छ ताकि आफ्ना नागरिक घर फर्किन सकुन्,’ संस्थाले भनेको छ, ‘विदेशमा आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्नका लागि अन्य सरकारसँग मिलेर काम गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।