एजेन्सी–ह्वाइटहाउसले हाल कायम सामाजिक दूरी निर्देशिका कार्यान्वयन भएको अवस्थामा पनि अमेरिकामा कोरोना महामारीबाट १ लाखदेखि २ लाख ४० हजारसम्म मानिसको मृत्यु हुने अनुमान गरेको छ।
ह्वाइटहाउसको नियमित ब्रिफिङमा मंगलबारको यो आँकलन प्रस्तुत गरिएको हो। आँकलनअनुसार सामाजिक दूरी कायम नगर्ने हो भनेचाहिँ मृत्यु हुनेको संख्या १५ लाख देखि २२ लाख मानिस मर्न सक्नेछन्।
कोरोना भाइरसविरुद्धको अभियानको नेतृत्व गरिरहेका नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेजका निर्देक डा एन्थोनी फौसीले भने, ‘संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दो अवस्थामा रहेकाले हामी तयार हुनुपर्छ, तर आशा गरौं यो बढ्नेछैन।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमण तथा मृत्युदर कम गर्न पहल आवश्यक रहेको र यो जीवन तथा मृत्युको विषय भएको भन्दै सरकारले जारी गरेको सामाजिक दूरी निर्देशिका कार्यान्वयन गर्न नागरिकलाई आग्रह गरेका छन्। उनले कडा २ साताको अवधिपछि देशले चाँडै समस्याबाट पार पाउने बताएका छन्।
अमेरिकाले सामाजिक दुरी निर्देशिका अप्रिल ३० सम्मका लागि लम्ब्याउँदै सामाजिक भेलामा रोक लगाएको छ।
अमेरिकामा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघेको छ भने संक्रमित १ लाख ८८ हजार पुगेका छन्। अलजजिराबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।