काठमाडौं- कोरोना भाइरसको संक्रमण देखिएकी युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका २ युवा सेल्फ क्वारेन्टाइनमा बसिरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन्। ती युवती चढेको जहाजमा रसुवाका सुर्य तामाङ र तेम्बा ग्याल्बो तामाङ समेत रहेको खुलेको थियो।
यी दुबै जना चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान नम्बरबाट जर्मनीबाट कतार ट्रान्जिट हुदै काठमाडौं आएका थिए। यी दुबै जनाको स्थायी ठेगाना रसुवा गोसाईकुण्ड गाँउपालिका भए पनि दुबै जना काठमाडौंमा बस्दै आएका छन्।
उनीहरु काठमाडौं आएदेखि नै आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा रहेको, बिदेशबाट आउदा स्वास्थ्य परीक्षण समेत गरेको स्वास्थ्य परीक्षण रिपोर्ट साथमा रहेको र हालसम्म स्वास्थ्यमा कुनै प्रतिकुल समस्या नदेखिएको प्रमुख जिल्ला अधिकारीले जनाएका छन्।
यी दुबैले परीवारसंग नभेटेको र टेकु अस्पतालमा स्वास्थ्य परीक्षण गराउन सम्पर्कमा रहेको उनले उल्लेख गरेका छन्। कोरोनाको संक्रमण देखिएकी १९ वर्षिय युवती रहेको विमानमा रसुवाका २ युवा समेत रहेको खुलेपछि उनीहरुको ठेगाना भएको गाउँपालिकामा त्रास बढेको थियो। रसुवामा त्रास बढेपछि भण्डारीले ती दुई युवाबारे विज्ञप्ती निकालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।