काठमाडौं- कोभिड-१९ विरुद्ध चौधरी फाउन्डेसनले ३ दिनभित्र देशभरका सबै संवेदनशील स्थानमा पिपिईलगायत अत्यावश्यक सामान पुर्याउने अभियान सञ्चालन गरेको छ।
अहिलेसम्ममा प्रदेश- ५ का ९ वटा स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), अक्सिजन उपकरणलगायत सामग्री हस्तान्तरण गरिसकिएको फाउन्डेसनले जनाएको छ।
यसैगरी प्रदेश १, ६ र ७ मा बिहीबारसम्ममा वितरण गरिसकिने फाउन्डेसनले जनाएको छ। अत्यावश्यक सामग्री वितरण गरिएका स्वास्थ्य संस्थामा पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज) रहेको छ।
फाउन्डेसन अध्यक्ष चौधरीले ट्विट गर्दै भनेका छन्, ‘हाम्रो अहिलेको मुख्य चुनौती र आवश्यकता भनेको विभिन्न अस्पताल र ठाउँ-ठाउँका क्वारेन्टाइन, आइसोलेसन सेन्टरहरूको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्रीले सुसज्जित गर्नु हो। सबैभन्दा पहिले उपचारमा क्रियाशील रहने स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गरी उनीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराउनु आवश्यक थियो। चौधरी फाउन्डेसनले यसमा केही सफलता हासिल गरेको छ।’
हेल्पलाइन सेवा पनि सुरुः
यसैगरी जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पिपिईलगायत अन्य आवश्यक सामग्री अभाव नहोस् भनेर फाउन्डेसनले हेल्पलाइन पनि सुरु गरेको छ। आवश्यकताका आधारमा ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न फाउन्डेसनले आग्रह गरेको छ।
अहिले देखिएको कोभिड-१९ परीक्षण किट अभावप्रति अध्यक्ष चौधरीको चासो रहेको फाउन्डेसनले जनाएको छ। ‘हाम्रो अर्को प्राथमिकता र चुनौती भनेको परीक्षण किटको उपलब्धता हो। केही बाहिरी मुलुकमा हामीले परीक्षण किट निर्यातका लागि तयारी अवस्थामा राखेका छौं। यद्यपि नेपाल भित्र्याउन सफल भइसकेका छैनौं,’ चौधरीले भने, ‘ढुवानी सहजीकरणका लागि हाम्रो टिम खटिइरहेको छ। मलाई आशा छ, यसमा छिट्टै समाधान निस्किनेछ।’
अक्सिजन उत्पादन उपकरण आयात प्रक्रिया सुरुः
यसैगरी अक्सिजन उत्पादन गर्ने उपकरण र भेन्टिलेटर अभाव पूर्ति गर्न बाहिरी मुलुकबाट आयात प्रक्रिया पनि सुरु गरिएको फाउन्डेसनले जनाएको छ। ‘मुलुकभर यी उपकरणको अभाव देखिएको छ। बाहिरबाट उपकरण आयात गर्नुको विकल्प हामीसँग छैन। सँगसँगै ती उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति अभाव पनि उत्तिकै छ। त्यसैले त्यस्ता जनशक्तिको अभिमुखीकरणका लागि हामी सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौं,’ चौधरीले भनेका छन, ‘आजको आवश्यकता भनेको पैसा होइन, यी उपकरणको आपूर्ति हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।