काठमाडौं– मन्त्रिपरिषद्ले एआइजी पदका लागि तीन डिआइजीको बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजी बढुवा समितिले गरेको सिफारिसअनुसार उनीहरूको नाम अनुमोदन गरेको हो।
गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले फागुनमा पहिलो साता तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरि पालको नाम सिफारिस गरेको थियो।
हाल बढुवा भएकामध्ये लम्साल आगामी असार २४ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएकाले बाँकी रहेका दुई एआइजी क्षत्री र पालबीच भावी आइजीका लागि प्रतिस्पर्धा हुनेछ।
तीन एआइजीको सिफारिसका लागि लम्साल, क्षत्री र पालसँगै प्रद्युम्न कार्की, निरज शाही, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धामा थिए। तर बढुवा समितिले अहिले डिआइजीको वरियतामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेकैलाई एआइजी बढुवाका लागि सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्ले उनीहरूको बढुवा अनुमोदन गरेसगै एआइको फुली लगाउने बाटो खुलेको छ। गत माघ २८ देखि प्रहरीमा एआइजी पद रिक्त थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।