काठमाडौं– मध्य दिन छ, काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाका कलंकीमा अरु दिन जस्तै भिडमभिड देखिन्छ । चोक नजिकै रौतहटकी चुन्नी चौधरी असिनपसिन भएर मकै पोल्दै छिन्।
चरक्क घाममा उनी घरि आगो फुक्छिन्, घरि सारीको सप्कोले पसिना पुस्छिन्।
१५ वर्षयता राजधानीमा यसैगरी मकै पोलेर गुजारा चलाउँदै आएकी छिन् चुन्नीले । मकै पोल्न अहिले उनलाई श्रीमानले पनि सघाउने गर्छन् । अरु बेला तन्ना बेच्दै हिँड्ने श्रीमान् आजभोलि व्यापार खस्किएकाले चुन्नीको काममा लागिमेली गरिरहेका छन्।
उनीहरुले मकै बेचेकै कमाइबाट तीन सन्तानसहित ५ जनाको परिवार चलाउँदै आएका छन् । छोराछोरी कलंकीकै एक सरकारी विद्यालयमा पढिरहेका छन् । उनीहरु बिदाको दिनमा मकै बेच्न आमा–बुवालाई सघाउँछन् । थालमा मकै बोकेर उनीहरु पैदलयात्रुदेखि बसका यात्रुसम्म पुग्छन्।
‘दैनिक एक हजारदेखि २ हजार रुपैयाँसम्मको व्यापार हुन्छ’, चुन्नी भन्छिन्– ‘छोराछोरी पढाउन र कोठाभाडा तिर्न ठिक्क हुन्छ।’ छोराछोरीको भविष्य हेर्दै यो काममाचौधरी दम्पतीले ज्यान लगाइरहेका छन्।
झट्ट हेर्दा मकै पोल्ने पेसा आम्दानीको सजिलो माध्यम जस्तो लाग्छ । मकै ल्याएर भटाभट पोलेर बेच्ने त हो जस्तो देखिन्छ । तर, यो कामको दुःख यसमै दिनरात लगाउनेहरुलेमात्र अन्दाज गर्न सक्छन्।
धपेडीको कथा
मकै पोलेर बेच्नेहरुको मुख्यगरी दुईथरी चिन्ता हुन्छ, मकै जोहो गर्ने र दाउरा कहाँबाट ल्याउने । बिहानको समयमा उनीहरु मकै र दाउरा बटुल्न जुट्छन्।
काठमाडौंमा मकै पोल्ने अधिकांशले कालीमाटी तरकारी बजारबाट मकै किनेर ल्याउँछन् । बजारमा एकाबिहानै नपुगे मकै पाउनै गाह्रो हुन्छ। चुन्नी दुःख पोख्छिन्, ‘मुख्य समस्या त दाउरा पाउनै गाह्रो छ । दाउरा नपाएर कहिलेकाहीँ त खाली हात बस्नुपर्छ।’
बजारमा एकाबिहानै नपुगे मकै पाउनै गाह्रो हुन्छ। चुन्नी दुःख पोख्छिन्, ‘मुख्य समस्या त दाउरा पाउनै गाह्रो छ । दाउरा नपाएर कहिलेकाहीँ त खाली हात बस्नुपर्छ।’
होलसेलमा प्रतिगोटा १० देखि १२ रुपैयाँसम्ममा मकै किनेर ल्याउने उनीहरुले पोलेको मकै २० देखि ३० रुपैयाँसम्म बिक्री गर्छन्। मकै पोल्नेहरुको दौडधुप दिउँसो करिब ३ बजेबाट सुरु हुन्छ । कोठाबाट मकैका घोगा, दाउरा, कोइला हम्किने पङ्खा र अन्य बन्दोबस्तीका सामान लिएर निस्किने उनीहरु राति नौ बजेसम्म व्यस्त हुन्छन्।
मकै पोल्ने सिजनको पेसा हो ।मकै नपाइने वर्षको चार महिना भने उनीहरु खाली बस्नुपर्छ।
धूवाँ–धूलोको सास्ती
धूवाँ–धूलोले उकुसमुकुस काठमाडौंमा मकै पोल्ने काम थप सकसपूर्ण हुन्छ । मान्छेको बढी चहलपहल हुने चोकमा मकै बेच्न बस्दा सडक र सवारी साधनको धूलो र धूवाँले गाह्रो पार्ने आफ्नै ठाउँमा छ, मकै पोल्ने आगोले धूवाँ पुत्ताउँदा स्वास्थ्यमै असर पर्ने गर्छ ।
चुन्नी भन्छिन्, ‘धूवाँले सास फेर्न गाह्रो हुने भइहाल्यो । मकै पोल्न थालेयता टाउको र आँखा दुख्ने अनि छाती पोल्ने पनि सामान्य भइसक्यो । कहिलेकाहीँ बिरामी भएर मकै बेच्न जान सक्दिनँ र घरमै आराम गर्छु ।’
अस्पताल जाँदा सबै पैसा सकिने चिन्ताले उनी सिटामोल खाएर टाउको दुखाइ थामथुम पार्छिन् ।
राजधानीमा मकै बेच्ने अधिकांशको पीडा चुन्नी चौधरीको जस्तै छ । उनीहरु धूवाँ–धूलोको उकुसमुकुसमा सास थाम्दै जीवन धानिरहेका छन् । कलंकी चोकमै दुई वर्षदेखि मकै पोल्दै आएकी मीनाले यसैको कमाइबाटदुई छोराछोरी पढाएकी छिन् । उनलाई पनि टाउको र आँखा दुख्ने समस्याले सताउने गर्छ । अस्पताल जानुभन्दा मेडिकलबाट औषधि ल्याएर खान्छिन् ।
अर्की व्यापारी जोगा मियाँले यो व्यवसाय गरेर अहिलेसम्म खाली पेट र नाङ्गो आङ बस्नुनपरेको सुनाउँछिन् । सामान्य रुघाखोकी लागे पनि उनी अस्पतालनै बस्ने गरेर बिरामी परेकी छैनन् ।
पछिल्लो समय खानेपानीको पाइप राख्न र विस्तारका लागि सडक खनिँदा धूलोले पैदलयात्रुका साथै सडक किनारमा व्यापार गर्नेहरुले समस्या खेप्नुपरेको छ ।
अति व्यस्त वानेश्वरमा मकैपोल्ने रामेछापकी ५५ वर्षीया पार्वती महतकै कुरा गरौं ।१५ वर्षदेखि यही कामबाट५ जनाको परिवारको रेखदेख गर्दै आएकी उनी मकै नपाइने सिजनमासाग बेच्छिन् ।
सडकको धूलो र मकै पोलेको धूवाँले कहिलेकाहीँ बिरामी हुने गरेको उनले सुनाइन् । भन्छिन् ‘तर, सानोतिनो रोग लाग्दैमा अस्पताल गइन्न । साध्य पनि त चल्दैन !’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।