काठमाडौं–कोरोना संक्रमणसँगै बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव सिर्जना हुने अवस्था देखिएको छ। कतिपयले त ग्यास, तेल, नुन, खाद्यान्नलगायत सामग्री लाइन बसेर जोहो गर्न थालिसकेका छन् भने मास्क तथा स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री बजारमा पाउन छाडिसकेको छ।
व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना भएको उपभोक्ता हित संरक्षण मञ्को दाबी छ।
अर्कोतर्फ कतिपय उपभोक्ताहरुले नै असहज स्थिति आउन लागेको आशंकामा आवश्यकताभन्दा बढी उपभोग्य वस्तु थुपार्ने प्रवृत्तिले गर्दा पनि बजारमा अभाव सिर्जना हुने गरेको उपभोक्ता हिंत संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए।
‘यो संकटका बेला व्यवसायी, सरकार तथा उपभोक्तालगायत सबै मिलेर अगाडि बढ्नु पर्नेमा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको छ। यसमा सरकारले ध्यान दिनु आवश्यक छ’ अध्यक्ष बानियाँले भने।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल बजारमा अभाव हुने हल्लाले नै कृत्रिम अभाव निम्तिएको स्वीकार गर्छन्।
अभाव हुने हल्ला हुनेबित्तिकै व्यवसायीहरुले लुकाउने र केही उपभोक्ताहरुले आवश्यकभन्दा बढी खरिद गरेर घरमा थुपार्ने प्रवृतिले अभाव सिर्जना भएको महानिर्देशक ढकालको भनाइ छ।
उनी भन्छन्, ‘अहिले त केही सूचना सार्वजनिक गर्दा पनि संवेदनशील हुनुपर्ने देखिएको छ। यो चिज अभाव हुने अवस्था छ भन्नेबित्तिकै स्टक राख्ने होडमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुने रहेछ ।’
औषधिजन्य सामग्रीहरु पनि उपभोक्ताहरुले आवश्यकताभन्दा बढी खरिद गरेर थन्क्याउने प्रवृत्तिले अभाव निम्तिएको उनले बताए ।
‘विश्व स्वास्थ्य संगठनले नै महामारी घोषणा गरिसकेको कोरोना भाइरस संक्रमणको जोखिम अवस्थामा एकअर्काले आपसी सहयोग गर्ने हो ठगी गर्ने होइन’ उनले थपे ।
निगरानीमा छौँ : विभाग
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजारको निगरानीमा रहेको दाबी गरेको छ। ‘हामी निगरानीमा छौँ, त्यस्तो केही समस्या भयो भने यहाँहरुले हाम्रो हटलाईन ११३६ मा फोन गर्न सक्नु हुन्छ’ विभागका अनुगमन शाखा प्रमुख सागर विष्टले भने।
उनी भन्छन्, ‘बजारमा ग्याँसको अभाव भए आयल निगम छ, साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने नुन छ, हामीले जनतालाई अत्तालिन बाध्य पार्ने होइन आश्वस्त पार्ने हो । सरकार व्यवसायी उपभोक्ता सबै मिलेर अगाडी बढ्नुपर्छ।’
सुरक्षित खाद्यान्नमा जोड : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अभावका बेलामा गुणस्तरहीन सामग्रीको प्रयोग बढ्न सक्ने भन्दै त्यतातर्फ निगरानी बढाउने उल्लेख गरेको छ।
त्यस्तै कोरोनाको महामारी फैलिएको अवस्थामा मासुजन्य खाद्यान्न कम खाने तथा खाए पनि राम्रोसँग पकाएर खानुपर्ने विभागकी महानिर्देशक मतिना बैद्य जोशीले बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।