काठमाडौं– हतियारसहित नेपाल प्रवेश गरेको भारतीय समूहका तीन सदस्यलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। सुनसरीको सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा भारत घर भएका अजयकुमार मण्डल, आन्नदकुमार मण्डल र राकेशकुमार साह रहेका छन्। प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सुनवर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुकाे साथमा उक्त पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ।
साथै उनीहरुको साथबाट अनटेष्ट लेखिएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। हतियारसहित नेपाल प्रवेश गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।