समकालीन नेपाली कवितामा ‘बिसे नगर्चीको बयान’ र कवि श्रवण मुकारुङ पर्याय जस्तै बनेका छन् । अन्य धेरै चर्चित कविता र गीतका यी सर्जक यही कविताबाट दोस्रो जनआन्दोलनको उत्कर्षसँगै झनै लोकप्रिय बन्न पुगे । ‘म त तारेभीर तिमी लहरा’, ‘माथिमाथि शैलुंगेमा चौंरी डुलाउनेलाई’ उनका सदाबहार गीत हुन् । हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य र मातृभाषा साहित्य विभाग प्रमुख रहेका मुकारुङसँग कवितामै केन्द्रित रहेर फणीन्द्र संगम ले गरेको कुराकानीको संक्षेप:
तपाईंका नयाँ कविता पढ्न नपाएको निकै भयो । एकेडेमीको जागिरले सर्जकहरुलाई निष्क्रिय बनाउँछ हो ?
- कतिपय अवस्थामा अफिसियल कामले व्यस्त बनाउँदो रहेछ । तर मभित्र कुनै स्रष्टा रहेको छ भने त्यसलाई मर्न दिएको छैन । जीवित राखिराखेकै छु । अहिले रेडियो नाटक ‘मितिनी’ लेखिराखेको छु, जुन ८० एपिसोड देशभरका ५४ रेडियोबाट बजिसकेको छ । नाटक लेख्दा पनि मैले लेखकलाई नढाँटी लेख्ने गरेको छु ।
हरेक कवि एकेडेमीमा आएपछि लेख्दैनन् भन्ने प्रश्न चाहिँ सामूहिक आरोप जस्तो लाग्छ मलाई । एकेडेमीमा जानु भनेको ‘कुर्सीमा गयो अब लेख्दैन’ भन्ने मनोविज्ञान पनि होला ।
एउटा कविले सधैं एउटै लेभलमा लेख्न सक्दैन । कवि मेसिन होइन । जसरी पहिले सडकमा हिँड्दा वा समाजसँगै रहेर स्वतन्त्र चिन्तन गर्दा लेख्न सहज हुन्थ्यो । अहिले त्यस्तो छैन । किनकि १०–५ कार्यालय समयले बाँधेर राख्छ । तर पनि समय मिलाएर केही नयाँ कविता सिर्जना गरिरहेकै छु । सिनेमाका लागि गीत लेखिरहेकै छु ।
कार्यालयमै रहँदा पनि कुनै मुडमा कविता लेख्ने गर्नुभएको छ ?
- म कविता लेख्दा सधैं योजनाबद्ध ढंगले लेख्छु । विषयको गहनता र त्यहीअनुरूप कसरी सम्प्रेषणीय बनाउन सकिन्छ भनेर ध्यान दिन्छु । घर भत्केको भावुकतामा वा कुनै राम्री केटी देख्नासाथ कविता लेखिहाल्दिनँ । धेरै कुरा अध्ययन गरेर लेख्ने मेरो बानी छ । कविता त्यसरी फुलुकमा लेखिने विधा पनि होइन ।
तपाईं त गीत, नाटक, निबन्ध पनि लेख्नुहुन्छ । विधागत अन्तरसम्बन्धलाई एउटा लेखकले कसरी बुझेको हुन्छ ?
कुनै एउटा विधामा लेख्नेले अर्कोमा लेख्न सक्ने सामर्थ्य राख्छ नै । कवितालाई सर्वश्रेष्ठ विधा पनि मानिन्छ । राम्रो कवि भयो भने उसले उपन्यास, कथा वा निबन्धमा राम्रो गर्न सक्छ । उसको त्यो काव्यिक चेतनाले अन्य विधालाई पनि निकै फाइदा पुर्याउँछ । र, अर्को विधामा हस्तक्षेप गर्न सक्छ ।
कवितालाई शक्तिशाली विधा मान्नेहरु पनि छन् । तर राम्रो कविता लेख्दा–लेख्दै उपन्यास लेखनमा लाग्ने र कविता लेख्नै छोड्ने प्रवृत्ति छ नि !
हो, कविता लेख्दालेख्दै उपन्यास लेख्न थाल्यो भन्ने आरोप पनि यदाकदा लाग्ने गरेको छ । कविले मात्र होइन अरुले पनि लेखनमा विधा परिवर्तन गरिरहनुपर्छ । एकैखाले लेखनले आफूलाई मात्र होइन पाठकलाई पनि दिग्दार बनाउँछ । कुनै लेखकले विधा परिवर्तन गरिरह्यो भने उसले फरक ढंगले भन्न पाउँछ र नयाँ कुराहरु आउँछन् । म कविता लेख्छु, अहिले नाटक पनि लेखिरहेको छु । यसमा म खुब इन्जोय गरिरहेको छु । कवितामा मेरो जुन शक्ति थियो, त्यसलाई नाटकमा कसरी प्रयोग गर्दा अझ राम्रो हुन्छ भनेर लागिरहेको छु ।
अन्य कविताको तुलनामा ‘बिसे नगर्चीको बयान’ले किन आफूलाई बढी चर्चा दिलायो भन्ने लाग्छ ? दोस्रो जनआन्दोलनको संयोग मात्रै हो कि ?
- म देशभित्रको सामाजिक बेथिति, असमानता, अन्यायमाथि लेखिरहेको थिएँ । यो कविता त्यही समयसँग जोडियो, दोस्रो जनआन्दोलन सुरु भयो ।
समय नदी जस्तो रहेछ, बगिरहने । कविहरु भनेका नदीमा खेल्ने माछा पक्रने माझी जस्ता रहेछन् । हामीले समयलाई चिन्न र पक्रन सक्नुपर्यो । त्यो बेला बगिरहेको समयलाई मेरो कविताले समात्यो । दोस्रो जनआन्दोलनको बहाव र मेरो कविताको थिम मिल्न पुग्यो । र नै यो कविताले चर्चा पायो भन्ने लाग्छ ।
कुनै कविता युगौंयुग बाँच्न सक्छ भनेर समयको कुन बिन्दुले निर्धारण गर्छ ?
- कविता क्षणमा लेखिन्छ तर स्थापित हुन समय लाग्छ । बुद्धका वाणी कविता हुन वर्षौं लाग्यो । कविता लेखिइरहेको हुन्छ, साधना गर्नेहरु लागिरहेकै हुन्छन् । तर परीक्षण हुन समय लाग्छ । तीन–चार वटा कविता लेख्नासाथ कवि स्थापित भइहाल्दैन ।
पुराना कविहरुलाई हेरौं न । प्रत्येक कालखण्डमा कविको संख्या त धेरै नै थियो । भानुभक्तको कालखण्डमा अन्य कवि पनि थिए । लेखनाथको समयमा उनीमात्रै त थिएनन् । भूपी, रिमालको समयमा उनी बाहेक अरु कवि नै थिएनन् त ? तर, अहिले हामीले सम्झिने त त्यो समयका दुई–चार कवि न हुन् । अरुलाई फाल्दै गयौं । समयले आफैं किनारामा पार्दै गयो । एउटा कवि निर्माण हुन कविता लेखेर मात्र हुँदैन, समय पर्खनुपर्छ ।
यो समयमा लेखिएका नयाँ पुस्ताको कविता कस्ता लाग्छन् ?
- कविताको समीक्षा गर्नु गम्भीर कुरा हो । हरेक सयम पुरानाभन्दा नयाँले नयाँ रुपमा लेखिरहेका हुन्छन् । भाइबहिनीले सक्रियपूर्वक नै लेखिरहरेका छन् तर पर्फेक्ट कविका रुपमा स्थापित हुन त समय लाग्छ । मलाई आफैं स्थापित कवि जस्तो लाग्दैन ।
अहिले ठूलो हुल त छ कविता लेख्ने तर चिनिने गरी कुनै कवि देखेको छैन । हस्तक्षेपकारी कुनै कविता आयो है भनेर देखापरेको नयाँ कवि चिन्न पाएको छैन । कवि नै हो, ऊ भिडमा छ, तर उसको नजिक म पुगेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।