काठमाडौं- ‘विप्लवसँग राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्यो,’ गत फागुन २८ मा सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ठाउँ ठाउँमा विस्फोट गराउनु तर प्रहरी कारबाही फितलो हुनुबारे जिज्ञासा राख्दा नेपाल प्रहरीका अधिकारीले यही गुनासो राख्थे।
सरकारले विप्लवलाई राजनैतिक पार्टीको रुपमा पनि हेर्ने गरेको र कारबाही गर्न पनि प्रहरीलाई निर्देशन गरेकाले दोहोरो चरित्र देखिएकाले विप्लव समूहमाथिको कारबाही फितलो भएको सुरक्षा निकायका अधिकारीको भनाइ थियो।
अन्ततः सरकारले विप्लव नेकपालाई आपराधिक समूह घोषणा गर्दै जहाँ भेटिन्छ, त्यही पक्राउ गर्न निर्देशन दियो। विप्लवका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगायो। प्रहरीलाई कारबाहीका लागि सरकारले बाटो खोलिदिएको १० महिनासमेत नाघिसक्यो। तर विप्लव नेकपामाथिको कारबाहीमा सुरक्षा निकाय भने अझै निकम्मै देखिएका छन्।
बुधबार मात्रै काठमाडौंस्थित ढुंगेधारा नजिक रहेको शोभाकान्त ढकालको घरमा शक्तिशाली बम विस्फोट भयो। ललिता निवास जग्गा काण्डमा मुछिएका ढकालको घरमा भएको विस्फोटमा मानवीय क्षति नभए पनि भौतिक क्षति भने भयो।
विस्फोटबाट पार्किङ गरेर राखिएको बा ५ च ९५५९ नम्बरको कार, ढकालको घरको गेट, सिसामा क्षति भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताएका छन्।
दुखको कुरा अहिलेसम्म विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिन सकेको छैन।
‘विप्लव समूहको नयाँ टोली आएर विस्फोट गराएको देखिन्छ। अहिलेसम्म एक जनालाई पनि पक्राउ गर्न सकिएको छैन,’ डिएसपी बोगटी सुनाउँछन्।
विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि मात्रै हालसम्म ३ सर्वसाधारण, २ प्रहरी र ६ विप्लव कार्यकर्ता गरी ११ जनाको ज्यान गइसकेको छ भने २० ठाउँभन्दा बढी विस्फोटका घटना भएका छन्।
यी घटनाले आन्तरिक सुरक्षाको अवस्थालाई गिज्गाएको छ।
आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जासुसी संयन्त्र कति निकम्मा छ भन्ने प्रमाण पटकपटक काठमाडौं उपत्यकामा समेत नै हुने गरेका विस्फोटका घटनाले प्रष्ट्याएका छन्।
आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न सेनाको सैनिक विनय महानिर्देशनालय (डिजिएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, सशस्त्र प्रहरीको विशेष संयन्त्र र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) परिचालन हुन्छन्।
जंगी अड्डामै रहेको सेनाको गुप्तचर निकाय डिजिएमआइले विस्फोटको भेउसमेत पाउन सकेन।
तर, यी ४ वटै निकायका अधिकारीले प्रभावकारी काम गर्न नसक्दा पटक पटक काठमाडौं उपत्यकामा विस्फोट हुँदै आएको छ। विस्फोटका घटनाको पूर्व सूचनासम्म सुरक्षा निकायले नपाउनुमा उनीहरुको भूमिकामाथि स्वाभाविक रुपमा प्रश्नचिह्न उठ्ने पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्।
जंगी अड्डामै रहेको सेनाको गुप्तचर निकाय डिजिएमआइले विस्फोटको भेउसमेत पाउन सकेन। विस्फोट सेनाकै मेडिकल कलेज नजिकै भएको थियो।
यद्यपि, गत दसैंताका जंगी अड्डामा भएको पत्रकार सम्मेलनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनकारी समूहको गतिविधि नेपाली सेनाले टुलुटुलु हेरेर मात्रै नबसेको बताएका थिए। कानून विपरीत गतिविधि गर्ने विखण्डनकारी तत्वको सुक्ष्म निगरानी सेनाले गरेको गरिरहेको उनको तर्क थियो।
तर, सूचना संकलनमा निकै तिक्ष्ण मानिएको सेनाको जासुसी संयन्त्रलाई समेत चुनौती दिँदै सेनाकै मेडिकल कलेज अगाडि बुधबार राति शक्तिशाली बम विस्फोट भयो।
त्यस्तै, बारम्बार हुने विस्फोटका घटनाले राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी)को क्षमतामाथि पनि प्रश्न उठाएको छ। सूचना संकलन गर्ने प्रमुख जिम्मा पाएको एनआइडीका कर्मचारी नै अन्य सुरक्षा निकायसँग सूचना माग्ने गरेका छन्। सशस्त्र प्रहरी बलका एक अधिकारी भन्छन्, ‘एनआइडी त अहिले यतिसम्म कमजोर भएको छ। हामीले उनीहरुसँग सूचना माग गर्नु पर्नेमा दैनिक रुपमा उनीहरुले फोन गर्दै केही नयाँ इन्मफर्मेसन छ भन्दै सोध्ने गर्छन्।’
अझ अनौठो कुरा त भेष बदलेर सूचना संकलन गर्ने जिम्मा पाएको एनआइडीका कर्मचारीले केही समय अगाडि तालिम पश्चात भन्दै फोटो सार्वजनिक समेत गरेका थिए। गुप्तचरका कर्मचारीले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध समेत भएको थियो । प्रधानमन्त्री मातहत ल्याइएको यो एनआइडीलाई अझ शक्तिशाली बनाउने भन्दै फोन ट्यापिङसम्मको अधिकार दिने सरकारको तयारी छ।
आतंकवाद, अन्तरदेशीय अपराध, भूमिगत समूहका गतिविधिको सूक्ष्म निगरानी गर्ने निकाय नेपाल प्रहरी विशेष ब्युरोले समेत विस्फोटका घटनाको कुनै सुराक पाउन सकेन। यद्यपि, काठमाडौंमा विस्फोट हुने दिन दिउँसो ब्युरोकै सूचनाका अधारमा महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर सेक्रेटरी रमेश डंगोल र युवा संगठन ललितपुरका कार्यबाहक अध्यक्ष सन्तमान स्याङ्तान पक्राउ गरेको थियो। उनीहरु पक्राउ परे पनि विस्फोटको कुनै 'क्लु' भने प्रहरीले फेला पार्न सकेन।
त्यसो त काठमाडौं, ललितपुर, भक्तपुर तीन जिल्लाको कमाण्डको जिम्मा पाएको महानगरीय प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका डिआइजी विश्वराज पोखरलले शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताएका थिए। तर, डिआइजी पोखरेलले यस्तो दाबी गरेको केही दिनमै विस्फोट हुनेले प्रहरीको सुरक्षामा चुनौती रहेको प्रस्ट्याउँछ।
उता, सशस्त्र प्रहरी बलको जासुसी संयन्त्रले पनि विस्फोटको कुनै ‘क्लु’ फेला पार्न सकेन। विस्फोट स्थल सशस्त्रको हेडक्वाटरबाट नजिकै पर्छ।
डाटा सुनाउँदै मख्ख प्रहरी नेतृत्व
यसरी पटकपटक मान्छेको ज्यानै जाने गरी विस्फोट हुँदा पनि सुरक्षा निकायको ध्यान भने खिच्न सकेको छैन। प्रहरी प्रधान कार्यालयले एउटा डाटा तयार पारेको छ। आइजी सर्वेन्द्र खनाल भने विप्लव समूहका मान्छे ठूलो संख्यामा पक्राउ परेको भन्दै त्यही डाटा सुनाउँदै व्यस्त छन्।
पाकिस्तानका तत्कालीन राष्ट्रपति र भारतीय प्रधानमन्त्री, चिनियाँ राष्ट्रपतिको भ्रमण, साग खेलकुद, बिम्स्टेक र एसिया प्यासिफिक सम्मेलन राम्रो सुरक्षा व्यवस्थाका साथ सफल गरिएको सूचीदेखि विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ गरी कारबाही गरिएको विवरण सुनाउँदै आइजी मख्ख छन्।
कुनै ठाउँमा कार्यक्रम हुने बित्तिकै आइजिपी खनाल भन्छन्, ‘मैले बोलिरहनु पर्दैन। सबै कुरा डाटाले बोल्छ।’
विप्लव समूहका प्रतिबन्धपछि अहिलेसम्म पक्राउ १२७४ जना पक्राउ परेको, पेस्तोल ३० थान, यसमा लाग्ने गोली १०९ राउन्ड, रिभल्बर १ थान, यसको गोली ५ राउन्ड, थ्री नट थ्री १ थान, यसको गोली ५ राउन्ड, ४२८ राउन्ड गोलीसहित ५ थान भरुवा बन्दुक, ९० राउन्ड गोलीसहित १ थान एसएलआर, १ थान एलएमजी, ४५४ राउन्ड गोलीसहित ७ थान एसएमजी, एम१६ १ थान, सुतली बम र ह्याण्ड ग्रिनेट १ र अन्य अन्य गोली १८३ बरामद भएको विवरण हरेकजसो कार्यक्रममा आइजीले भट्याउँदै आएका छन्।
कुनै ठाउँमा कार्यक्रम हुने बित्तिकै आइजिपी खनाल भन्छन्, ‘मैले बोलिरहनु पर्दैन। सबै कुरा डाटाले बोल्छ।’
पत्रकार सम्मलेनदेखि संसदीय समितिसम्म आइजी खनालले यी डाटा सुनाउँदै आएका छन्। तर बेलाबेला सुरक्षा निकायलाई नै चुनौती दिने गरी हुने गरेको विस्फोटको घटनाले प्रहरीका ती डाटालाई गिज्याइरहेको छ।
खस्कँदै ब्युरोको साख
नेपाल प्रहरीको विशेष ब्युरोले आतंकवाद, अन्तरदेशीय अपराध, भूमिगत समूहको गतिविधिबारे सूक्ष्म अनुसन्धान गर्छ। ब्युरोले संकलन गरेको सूचनाका कारण द्वन्द्वकाल र त्यसपछिका विभिन्न आपराधिक घटना नियन्त्रण गर्न सरकार सफल भएको थियो।
ब्युरोको भूमिका कति प्रभावकारी हुन्थ्यो भन्ने बुझ्न धेरै टाढा गइराख्नु पर्दैन। तीन वर्षअघि २०७३ कात्तिक ९ गते उपत्यकाकै भक्तपुरबाट विशेष ब्युरोले मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्ती मगरसहित १३ क्षेत्रीय इन्चार्जलाई हातहतियार, विस्फोटक पदार्थ तथा दस्तावेज, कब्याट ड्रेससहित पक्राउ गरेको थियो।
फोर्सले सशस्त्र द्वन्द्वको योजनासहित रुकुमको जाङ खारखोलामा उपेन्द्र घर्ती मगरको नेतृत्वमा युद्धसम्बन्धी तालिम दिएकोसम्म ब्युरोले पत्ता लगाएको थियो। त्यसबेला ब्युरो प्रमुख बमबहादुर भण्डारी थिए। उनले अवकाश पाइसकेका छन्। तीन महिनाभन्दा लामो सूचना संकलनबाट उनीहरूलाई ब्युरोले भक्तपुरबाट पक्राउ गरेको थियो।
फोर्ससँग हातहतियार तथा बन्दोबस्तीका सामग्री, भरुवा बन्दुक, रिभल्बर, कटुवा पेस्तोल, सकेट बम, सुतली बम, पेट्रोल बम, खुकुरी, नाइनस्टिक तथा घरेलु हतियार प्रहरीले बरामद भएको थियो।
सर्वेन्द्र खनाल आइजिपी हुनु अघिसम्म विशेष ब्युरो प्रमुखको सिफारिसमा मात्रै ब्युरोमा प्रहरी लगिन्थ्यो। तर, अहिले अनुसन्धान र सूचना संकलनको राम्रो ज्ञान नै नभएकालाई आइजिपी खनालको ठाडो निर्देशनमा विशेष ब्युरोमा खटाइएको छ।
सिन्धुपाल्चोक जलवीरे क्षेत्रका दुई प्रहरी एकाइ र रुकुमको एक एकाइमा आक्रमणको योजना रहेको दस्तावेजसमेत प्रहरीले फेला पारेको थियो। बेलैमा ब्युरोले सूचना संकलन गरेर ठूलो घटना हुनबाट जोगाएको भन्दै खुबै प्रसंशासमेत भएको थियो। रुकुमका तत्कालीन डिएसपी अंगुर जिसीले दिएको सूचनाका आधारमा ब्युरोले उक्त समूहलाई तहसनहस पारेको थियो।
त्यही प्रशंसा पाएर वाहवाही पाएको ब्युरो अहिले निकम्मा बनेको छ। केही दिनअघि मात्रै ब्युरोका एक उच्च अधिकारीले नेपाल लाइभसँग विप्लव समूह छिन्नभिन्न भइसकेको दाबी गरेका थिए।
‘अहिलेको चुनौती भनेको विप्लव समूह हो। त्यो पनि अहिले प्रहरी कारबाहीबाट छिन्न भिन्न भइसकेको छ’ यस्तो दाबी गरेका ब्युरोलाई बुधबार भएको बम विस्फोट र ललिता निवास कब्जा घोषणाको पर्चाले झस्काएको छ।
हरेक वर्ष ब्युरोको साख खस्कँदो अवस्थामा रहेको प्रहरी अधिकारी नै स्वीकार्छन्।
अपराध अनुसन्धान र जासुसीको अनुभव भएका धेरैजसो प्रहरी अधिकारी निवृत्त हुनु र भएका प्रहरीलाई पनि राम्रोसँग परिचालन नगर्दा ब्युरोको भूमिका प्रभावकारी हुन सकेको देखिँदैन। अझ ब्युरोका प्रहरीलाई तराईंका विभिन्न जिल्लामा आइजिपी आफैंले घुमुवा बनाएर पठाउन थालेपछि ब्युरोको काम झनै ओझेलमा परेको छ।
सर्वेन्द्र खनाल आइजिपी हुनु अघिसम्म विशेष ब्युरो प्रमुखको सिफारिसमा मात्रै ब्युरोमा प्रहरी लगिन्थ्यो। तर, अहिले अनुसन्धान र सूचना संकलनको राम्रो ज्ञान नै नभएकालाई आइजिपी खनालको ठाडो निर्देशनमा ब्युरोका लागि तान्ने र उपत्यका बाहिरका जिल्लामा पठाउने काम भएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।