काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रबार नेपाली पत्रकारहरुसँग अन्तरक्रिया गरिन्।
दूतावासमै दर्जनौं पत्रकारहरुलाई बोलाएर सम्बोधन गर्दै राजदूत याङछीले नेपालमा उब्जिएका धेरै जिज्ञासालाई शान्त पार्ने कोसिस गरेकी छन्। उनकाे पछिल्लो सम्बोधनले केही नखुलेका पक्षहरुमा पनि चिनियाँ विचार प्रष्ट भएको छ। आफ्नो सम्बोधनमा उनले मुलतः नेपाललाई ५ सन्देश दिएकी छन्।
एमसिसीमा देशहित हेर्नू
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अहिले नेपालमा विवादको केन्द्रमा छ। एमसिसी चीनविरुद्धको रणनीति, इन्डो प्यासेफिक स्ट्राटेजी (आइपिएस)अन्तर्गत रहेको भन्दै चर्को विरोध भइरहेका बेला चिनियाँ राजदूतले भने आर्थिक साहायतालाई स्वीकार गर्नु नै उचित हुने सन्देश दिएकी छन्। यसबारेमा नेपालले स्वतन्त्र निर्णय गर्ने उनको विश्वास छ।
‘नेपालले कुनै पनि अन्तर्राष्ट्रिय सहायता स्वीकार गर्न सक्छ, यदी त्यो आर्थिक सहायताका रुपमा दिन खोजिएको हो भने,’ पत्रकारहरुले राखेको जिज्ञासमा उनले भनिन, ‘म के आशा गर्छु भने नेपाली पक्षले कुनै दबाबविनै यसमा स्वतन्त्र रुपमा निर्णय गर्नेछ।’
रेलभन्दा पहिले सडक
चिनियाँ रेलबारे नेपालमा पालिएका कतिपय भ्रमलाई चिर्दै राजदूत याङछीले रेल भन्दा पहिले सडकलाई चीनले प्राथमिकता दिएको सन्देश प्रष्टरुपमा दिएकी छन्। नेपालमा भने केरुङबाट चाँडै चिनियाँ रेल आउने भन्दै टिकाटिप्पणी हुने गरेका छन्। तर, राजदूत याङछीले सोचिएजस्तो चिनियाँ रेल ल्याउन सहज नभएको बताएकी छन्।
हिमाल पार गरेर आउने सीमापार रेल परियोजना निकै ठूलो र कठिन परियोजना भएको भन्दै उनले रेलअघि सडक (सुरुङ र पुलमा)तर्फ दुई देशबीचको ‘कनेक्टीभिटी’लाई चीनले प्राथमिकता राखेको उनको भनाइ छ। '‘ट्रान्सबोर्डर रेलवे’ निकै ठूलो र कठिन परियोजना हो,’ उनले प्रष्ट पार्दै भनिन्, ‘यसको पूर्वसंभाव्यता अध्ययन जारी राख्नेछौं तर त्यसभन्दा पहिले हामीले दुई देश बीचको ‘इन्टर कनेक्टिभिटी’का काम रोक्न सक्दैनौं।’
सुरुङ र पुल दुई देशबीचको ‘कनेक्टिभिटी’का लागि एउटा छनाेट हुने सक्ने भन्दै राजदूत याङछीले भनिन्, ‘हाम्रोतर्फ (चीन) पनि निकै ठूला पहाड छन्। यस्ता पहाडमा सुरुङ र पुल निकै प्रभावकारी हुन्छन्।’
‘टू प्लस वान’ त्रिपक्षिय सहकार्य
नेपालमा चर्चामा रहेको ‘टू प्लस वान’ फर्मूलाबारे पनि राजदूतले धारणा राखेकी छन्। चीन र भारतले अघि सार्न खोजिरहेको ‘चाइन–इन्डिया प्लस वान’ फर्मूलाले नेपाल जस्ता साना देशको स्वतन्त्र हैसियतलाई खुम्च्याउने भन्दै नेपालमा यसको विरोध भइरहेको छ।
दोक्लामलाई लिएर चीन र भारतबीच ‘नोकझोक’ चलिरहेका बेला सन् २०१८ को अप्रिल २७–२८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चीनको उहानमा अनौपचारिक वार्ता भएको थियो। दुई दिनको मन्थनपछि क्षेत्रीय मुद्दाहरूमा मिलेर काम गर्ने सहमति गर्दै उनीहरुले ‘टू प्लस वान’ अवधारणा अघि सारेका थिए।
२०१९ अक्टोबर ११–२१ मा भएको उहान सम्मेलनको दोस्रो संस्करण ‘चेन्नई कनेक्ट’मा पनि ‘चीन–भारत प्लस’ सहकार्यलाई अझैं विस्तार गर्ने सी–मोदीबीच पुनः समझदारी बनेको छ।
महाबलीपुरमको ‘अनौपचारिक वार्तालाप’ सकेर नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सीले नेपाली नेताहरुसँगको भेटमा चीन र भारतबीच भइरहेको शान्ति एवं विकास साझेदारीमा नेपाल जोडिन सक्ने धारणा राख्दै ‘चीन–भारत प्लस नेपाल’ अवधरणामाथि छलफल भएको संकेत गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टू प्लस वान’को अवधारणालाई अस्वीकार गरेका छन् भने अन्य धेरै नेताहरुले यसले नेपाल जस्ता देशको हैसियत घटाउने भन्दै यसको आलोचना पनि गरिरहेका छन्। राजदूत याङछीले भने यसलाई त्रिपक्षिय साझेदारीका रुपमा व्याख्या गरेकी छन्। ‘यसको अर्थ सानो मुलुकमा खेल्ने भन्ने होइन,’ उनले पत्रकारहरुसामू भनिन्, ‘यो विन विन साझेदारी हो।’
चिनियाँ लगानी अझैं बढ्छ
पछिल्ला चार आर्थिक वर्षमा चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता भएको भन्दै राजदूतले सन् २०१९ मा मात्रै नेपालमा करिब १३ अर्बको चिनियाँ लगानी भित्रिएको तथ्यांक पेस गरिन्। सन् २०१९ मा चीन र नेपालबीचको व्यापार वृद्धि भएको, नेपालको चीनतर्फको निर्यात ३६.१ प्रतिशत बढेको र ११ प्रतिशतभन्दा बढीले चिनियाँ पर्यटक नेपालमा बढेको भन्दै उनले नेपालमा अझैं लगानी बढ्ने सन्देश दिइन्।
नेपालको परराष्ट्र मन्त्रालयले पछिल्लो समय प्रकाशित गरेको वार्षिक प्रतिवेदनले पनि नेपालमा लगानीमा चीन पहिलो रहेको र पर्यटन आगमनमा दोस्रो रहेको उल्लेख गरेको छ।
हङकङमा नेपालको साथ चीनलाई होस्
हङकङ र सेन्जियानमा पश्चिमा शक्तिहरुले खेल्न खोजिरहेको भन्दै राजदूत याङछीले त्यस्ता कुरामा नेपालको साथ समेत खोजिन्। सुर्पदगी विधेयकको विरोधमा हङकङमा सुरु भएको चीनविरुद्धको प्रदर्शन लामो समयदेखि जारी छ। त्यहाँ कैंयौैं नेपालीसमेत कार्यरत छन्। त्यसमा नेपालीको सहयोग नहोस् र चीन सरकारलाई नेपालले साथ दियोस् भन्ने अपेक्षा उनको छ।
‘नेपाल सरकार र जनता सधै एक चीन नीतिप्रति प्रतिवद्ध देखिएका छन्, जसलाई चीनले उच्च सम्मान गर्छ,’ राजदूत याङ्छीले भनिन्, ‘हङकङ र सेन्जियान मामिलालाई हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई नेपाली साथीहरुले राम्रोसँग बुझ्छन् र यसविरुद्ध लड्न हामीलाई साथ दिन्छन् भन्ने हाम्रो आशा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।