दार्जीलिङ- दार्जीलिङमा अचानक गोर्खा जनमुक्ति मोर्चाका समर्थकहरू सडकमा निस्किए अनि आफ्नै पार्टीका नेता विनय तामाङ अनि अनित थापाविरुद्ध नाराबाजी गरे। विनय तामाङ मोर्चाका सहसचिव हुन्, जो ३१ अगस्तको दिन कलकत्तामा मुख्यमन्त्री ममता व्यानर्जीसित बैठकमा बसेका थिए।
बिहीबार तामाङ कडा पुलिसी सुरक्षाबीच खरसाङ पुगेर जनसभामा सहभागी बनेका थिए। जनसभापछि उनैले १२ सेप्टेम्बरको दिन सिलगढीमा राज्य सरकारका अधिकृतहरूसित हुने बैठकलाई केन्द्रित गर्दै ८० दिन पुगेको अनिश्चितकालीन बन्दलाई १२ दिनका लागि स्थगित गर्ने घोषणा गरेका थिए।
गोर्खा जनमुक्ति मोर्चाबाट अलग्गिएका नेता विनय तामाङ
तामाङको घोषणा लगत्तै सैयौं मानिस, दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङमा उनको विरुद्ध सडकमा उत्रिए। यता मोर्चाका अध्यक्ष विमल गुरूङ आफ्नै सहसचिवको यसखाले निर्णय सुनेर छक्कै परे।
‘जब मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाल्यान्ड गठन गर्ने विषय राज्यको अधिकारक्षेत्रमा पर्दैन, यो केन्द्रले सम्बोधन गर्नुपर्ने विषय हो भनिसकेपछि १२ सेप्टेम्बरको बैठकको कुनै औचित्य नै छैन,’ तामाङको निर्णय विरुद्धमा बोल्दै विमल गुरूङले भने, ‘पार्टीले त त्रिपक्षीय (केन्द्र, राज्य र आन्दोलनकारी नेतृत्व) बैठकका लागि पो दवाब बनाउनुपर्ने हो, तर तामाङले कसैलाई नसोधी यसप्रकारको निर्णय गर्नुले स्पष्ट भइसकेको छ, उनी राज्य सरकारसित बिक्री भइसकेका छन्।’
पार्टीको पक्षबाट विनय तामाङलाई ‘आन्दोलन संयोजक’ बनाइएको थियो। मोर्चा महासचिव रोशन गिरीले तामाङको बन्द राहतको घोषणा सुनेलगत्तै आन्दोलन संयोजकको पदबाट निष्काषन गरिएको घोषणा गरेका छन्। ‘विनय तामाङ अनि अनित थापा आन्दोलनका गद्दारहरू हुन्, उनीहरूलाई पार्टीबाट नै निकालिने प्रस्ताव लिइनेछ,’ गिरीले भने, ‘बन्द जारी रहनेछ, १२ दिन स्थगित गर्ने कुरा विनय तामाङको व्यक्तिगत निर्णय हो, पार्टीको निर्णय होइन।’
विमल गुरूङले पनि तामाङ र थापालाई दल र जनतासित गद्दार गरेको भन्दै जबसम्म त्रिपक्षीय वार्ता हुँदैन तबसम्म बन्द जारी रहने घोषणा गरेका छन्।
मोर्चाभित्र फुटः तामाङ पुलिसको सुरक्षामा
विनय तामाङ मोर्चाका एक प्रभावकारी नेता हुन्। उनी विमल गुरूङका निकटका नेता पनि हुन्। तर यसपल्टको आन्दोलन शुरु भएदेखि नै उनी विमल गुरूङसित टाढा भए। ‘आन्दोलन शुरु भएदेखि उनी मसित सम्पर्कमा छैनन्, यद्दपि मैले उनलाई कार्यनीति निर्माण गर्न, योजना तयार पार्न सहज हुने भएकाले सँगै बसौं भनेर अनुरोध गरेका थिए तर उनी मसित बसेनन्,’ गुरूङले भने, ‘केही दिनदेखि तामाङ, अनित थापा लगायतको कार्यशैलीबाट उनीहरू बङ्गालसित बिक्री भइसकेको अनुमान गरेको थिएँ। अहिले त्यो सत्य साबित भयो।’
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ
विमल गुरूङलाई लाग्छ, ममता व्यानर्जी मोर्चा फुटाउन चाहन्छिन्। विमल गुरूङलाई सम्झौतामा ल्याउन नसक्ने देखेपछि विनय तामाङलाई विमल गुरूङको विकल्पमा स्थापित गरेर आन्दोलनलाई दबाउने चलखेल भइरहेको छ।
‘मैले जीवन नै गोर्खाल्याण्डको निम्ति समर्पित गरेको छु। म राज्य सरकारलाई झुकाएरै छोड्छु। म कि त गोर्खाल्याण्ड लिएर घर पस्छु, गोर्खाल्याण्ड ल्याउन सकिनँ भने मेरो लाश घर पस्नेछ,’ गुरूङले भने, ‘घरिघरि आन्दोलन गर्न पनि सकिँदैन, यसपल्ट नै छिनाफाना हुन अनिवार्य छ। मेरो यो प्रतिबद्धता र जनाकांक्षा विरुद्धमा जाने विनय तामाङ अनि अनित थापालाई माफ गरिने छैन।’
यसैबीच विमल गुरूङले एउटा फोनकलको अडियो सार्वजनिक गरेका छन्। जसमा ३१ अगस्टको बैठकपछि विनय तामाङ र अनित थापाले मुख्यमन्त्रीसित अलग्गै बसेर आन्दोलन समाप्त गर्ने योजना बुनेको आशयमा कलकत्तामा विनय तामाङहरूसितै गएका अविनाश र रोहित थापासित विमल गुरूङको कुराकानी छ।
मोर्चामा फुट आइसकेको छ। विनय तामाङ र अनित थापालाई पार्टीबाट निकालिने भइसकेको छ। बिहीबार रातिदेखि जनता जसरी आक्रोसित बनेका छन्, त्यसैलाई ध्यानमा राखेर विनय तामाङलाई पुलिसी सुरक्षासितै सिलगढी पुऱ्याइएको सूत्रले बताएको छ।
शुक्रबार बिहानैदैखि पहाडभरि हजारौं मानिस बन्द जारी राख्न सडकमा उत्रिएका छन्। हिजो राति यसरी नै सडकमा उत्रिएका समर्थकलाई खरसाङ र दार्जीलिङमा लाठीचार्च गरिएको थियो। लाठीचार्जमा टाउकोमा गम्भीर चोट लागेकाले मोर्चा समर्थक रोमिला राईको मृत्यु भएको छ।
यता विनय तामाङहरूको विरोधमा जनता सडकमा उत्रने वित्तिकै पुलिसले मोर्चा नेताहरूको पक्राउ सुरु गरेको छ। बिहीबार राति गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिका सहसचिव सुरज बागदासलाई बजारबाटै पक्राउ गरिएको छ। कालेबुङको ग्राह्मसहोम्स निवासी वागदासलाई शुक्रबार कालेबुङ न्यायालयमा लगिएको छ। उनलाई आन्दोलनकालमा भएका आगजनी अनि सरकारी सम्पत्ति नष्ट गरेको आरोपमा मुद्दा लगाइएको छ।
करसाङमा पक्राउ परेका सुरज बागदास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।