भिआइपीको आडमा दोहोरो नागरिकता लिने र सार्वजनिक जग्गा मिच्ने कृष्णदास कसरी पुगे प्रहरी खोरमा?

विनय बाह्रकोटी | २०७६ मङ्सिर १६ सोमबार | Monday, December 02, 2019 १३:१९:०० मा प्रकाशित

इटहरी– भू–समाधिका कारण पटक–पटक चर्चामा आएका सिद्धबाबा भनिने कृष्णदास गिरी यतिखेर बलात्कार आरोपमा प्रहरी हिरासतमा छन्। सुनसरीको चतरास्थित आश्रममै कृष्णदासले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले प्रहरीसमक्ष उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।

सोमबार बिहान पक्राउ परेका उनलाई चार दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। प्रहरीले उनलाई सोमबार दिउँसो म्याद थपका लागि अदालत लगेको थियो।

कृष्णदास यसअघि पनि दोहोरो नागरिकता लिएका कारण विवादमा आएका व्यक्ति हुन्। सोलुखुम्बुमा जन्मिएर सुनसरीको चतरामा बस्दै आएका उनको वास्तविक नाम कृष्णबहादुर गिरी हो। उनले गैरकानुनी रुपमा दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा परेको उजुरी विचाराधीन छ।

सोलुखुम्बुबाट बसाईं सरेपछि उनी इटहरी– २० तरहरामा बस्दै आएका थिए। पछि भारत गएर केही समय बसेपछि आफू कृष्णदास भएको भन्दै चतरामा आश्रम बनाएर बसेका थिए। उनले नाम, जन्ममिति र स्थायी बसोबासको विवरण फरक–फरक लेखाई सोलुखुम्बु र सुनसरीबाट दुई वटा नागरिकता लिएका छन्। 

सोलुबाट कृष्णबहादुर गिरीको नाममा झिकेको नागरिकतामा जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको छ। २२२७/५९५ नम्बरको उनको नागरिकतामा भीमसेर रुम्दालीले हस्ताक्षर गरेका छन्।

पछि चतरामा बस्न थालेपछि उनले २०६५ साल पुस १७ गते सुनसरीबाट श्री वैष्णव कृष्णदासका नाममा नागरिकता लिएका छन्। उक्त नागरिकतामा स्थायी बसोबास बराहक्षेत्र–१ सुनसरी लेखिएको छ। जसमा जन्म मिति २०३१ फागुन १९ गते लेखिएको छ। यो उनको दोस्रो नागरिकता हो। नम्बर ०६९००४/१३२८०८ रहेकोे नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत वेदनिधि खनालले हस्ताक्षर गरेका छन्।

दुवै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुबाको नाम भने छविलाल गिरी नै लेखिएको छ। अन्य विवरण भने फरक छन्। दुई वटा नागरिकताको सन्दर्भमा उनले पत्रकार सम्मेलन नै गरेर सबै साधु सन्तले दोहोरो नागरिकता लिने गरेको बताएका थिए।

उनले दोहोरो नागरिकता लिएको विषय सार्वजनिक भए पनि उनीमाथि कुनै कारबाही हुन सकेन। बरु भिआइपीहरु नै उनको शरणमा आशिर्वाद लिन पुगिरहेका छन्। 

उनी उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री तथा भारतीय अधिकारीहरुलाई समेत प्रभावमा पार्न सक्षम छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले समेत उनको आश्रमको भ्रमण गरेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्।

त्यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू महाराजबाट प्रभावित भएको भन्दै प्रशंसा गरेका थिए। राष्ट्रपति, प्रधानमन्त्रीदेखि, प्रशासकहरु नै उनीसमक्ष शीर निहुर्‍याउने गर्छन्।

सार्वजनिक जग्गा हडपेर बसेका कृष्णदास शीर्ष नेता र प्रशासकको आडमा आफूलाई शक्तिशाली भएको प्रमाणित गरिरहेका छन्। मोरङ–सुनसरी सिँचाई परियोजनाको जग्गामा आश्रम बनाएका उनलाई अहिलेसम्म कसैले पनि हटाउने आँट गर्न सकेको छैन। 

नेता र भिआइपीको आडमा उक्त जग्गालाई चतराधामको रुपमा परिणत गरेका थिए। उनको आश्रममा नेपाल सरकारले नै करोडौं रुपैया खर्च गरिसकेको छ।

उनै कृष्णदासले नाडी विद्याबाट रोग पत्ता लगाउने भन्दै जडिबुटीको बिक्री गर्ने गरेका थिए। जडिबुटी बिक्रीमात्र नभई भारत निकासी समेत गर्ने गरेका थिए। आयुर्वेद विश्वविद्यालय खोल्न भन्दै राजनीतिक दलदेखि प्रशासनसम्म लबिङ गरेका थिए। 

उनी र उनको नजिकै बस्ने जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मिलेर चतरामा महाकुम्भको समेत सुरुवात गरेका थिए। चतरामा आयुर्वेद विश्वविद्यालय बनाउने, बराहक्षेत्र वरपरका जमिनमा जडिबुटी खेती गर्न लगाई सोको उपयोग गर्ने गरी योजना बनाएर उनले विभिन्न समयमा सरकार तथा राष्ट्रपतिलाई गुहारेका थिए। भारतको अर्बौं अनुदान भित्र्याउने योजना उनले सुनाउँदै आएका थिए। 

हाल उनले आफ्नोे आश्रम छेउमा सुविधासम्पन्न अतिथिगृह बनाएका छन्। त्यसका लागि विभिन्न दाताबाट प्रतिकोठा लाखौंको आर्थिक सहयोग संकलन गरेका छन्। केही महिना अगाडि उनले तारकब्रम्ह महायज्ञको आयोजना गरे। जुन महायज्ञमा अर्बौं पैसा संकलन भयो। तर त्यसको हिसाबकिताब भने सार्वजनिक गरेनन्। 

बालसन्तसँगको द्वन्द्व

२०५५ सालतिर नै चतरामा आश्रम बनाएर गुरुकूल पद्धतिबाट शिक्षण आरम्भ गरेर बसेका बालसन्तले कृष्णदासलाई चतरा ल्याएका थिए। दुवै मिलेर २०५९ सालमा महाकुम्भ पनि गरे। तर पछि दुवैबीच फाटो देखियो, जुन बढ्दै गएर पछिल्लो कुम्भसम्म आइपुग्दा बालसन्त एक्लै भए।

बालसन्तले आफूकहाँ आइरहने मान्छेलाई माया गरेर सँगै राखेको तर औंलो दिँदा डुडुँलो निल्न खोजेको केही महिनाअघि गरिएको महाकुम्भका बेला भनेका थिए। आफू कृष्णदाससँग आजित भइसकेको पनि बालसन्तको भनाइ थियो।

महाकुम्भपछि बालसन्तले २०६७ सालमा जगतगुरुको उपाधि पाए। त्यसपछि झन् कृष्णदास टाढिँदै गए। कृष्णदासको स्वभावलाई लिएर बालसन्तले दुःखेसो गर्दै आएका थिए। 

यस बीचमा कृष्णदासजीले पटकपटक भू–समाधि गरे। पोखरा तथा चतरामा ९ दिनसम्म जमिनमुनि विना अक्सिजन र केही नखाई गरेको भनिएको भूसमाधिले उनलाई चर्चित बनायो।

पछिल्लो समय महाकुम्भको लागि बालसन्त अभियान र प्रचारप्रसारमा रहेका समयमा कृष्णदासजीले अझ आक्रामक प्रचारका साथ चतरामै तारकब्रह्म महायज्ञ लगाए। नेपालका सहर–बजारका पोलमा उनको फोटोसहितको महायज्ञको प्रचार थियो भने राष्ट्रिय पत्रिकाहरुमा पूरा पेजका विज्ञापनहरु छापिएका थिए। धेरैले त महायज्ञलाई नै महाकुम्भको रुपमा समेत बुझे। 

तारकब्रह्म महायज्ञपछि भारतबाट आएका केही साधु सन्तहरुले कृष्णदासजीलाई जगतगुरु घोषणा गरे। त्यसमा बालसन्तले असन्तुष्टि जनाए। 

तारकब्रह्ममा बालसन्त सहभागी भएनन्। पछि महाकुम्भको उद्घाटनमै दुवैबीच अप्रत्यक्ष रुपमा भनाभनसमेत भयो।

सजिलै जगतगुरु नबनिने बताउँदै बालसन्तले भनिदिए, ‘काशीको विद्वत सभाले चार वर्षको मन्थनबाट मात्रै मलाई जगतगुरु बनाएको हो।’ अनि कृष्णदासजीले पनि भने, ‘देशभरका सन्त नजुटेको कुम्भ, कुम्भ नै होइन।’