काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा देखिएका चुनौतीहरु मध्ये एक हो, पोखरा रंगशाला। बढ्दो चुनौती र घट्दो दिनमा रंगशालाको आवरण त फेरियो तर हुनुपर्ने सुधार देखिएको छैन।
साग सुरु हुन सात दिन बाँकी छ। तर अझै ९ हजार दर्शक क्षमताको पोखरा रंगशालामा ५ हजार क्षमताको कुर्सी हाल्ने प्याराफिट निर्माणदेखि मैदानमा दुबो उमार्ने काम बाँकी नै छ।
नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औं सागमा काठमाडौंमा १९ खेल, पोखरामा ८ खेल र जनकपुरमा १ खेल हँुदैछन्। पोखरामा हुने खेलमध्ये महिला फुटबल र आर्चरी पोखरा रंगशालामा सञ्चालन हुने तय छ। आर्चरी १९ गतेदेखि सुरु हुनेछ। महिला फुटबल मंसिर १७ देखि सुरु हुनेछ।
फुटबलको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। १३औं सागमा ४ देशको सहभागिता रहेको महिला फुटबलमा दोस्रो खेलमा माल्दिभ्स र तेस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने तय छ। तर अहिलेसम्म पोखरा रंगशाला तयार भएको छैन। मैदानमा खाल्डाखुल्डी देखिन्छ, दुबो हालेर सकिए पनि मैदान मिलाउने काम सकिएको छैन। मैदानको मात्र होइन प्याराफिटतर्फको काम पनि सकिएको छैन।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का एक कर्मचारी भन्छन्, ‘यो लाज छोप्ने काम मात्रै हो। जसरी पनि यही मैदानमा प्रतियोगिता गर्नु पर्ने भएको हुँदा चटारो छ।’
राखेपकै कर्मचारी सन्तुष्ट नहुने गरी पोखरा रंगशालामा कस्तो काम भइरहेको छ त्यो देख्नेहरु लाज मान्नुपर्ने अवस्था छ। १३औं साग नेपालको गौरव र प्रतिष्ठासँग जोडिएको भाषणहरु भइरहे पनि काम भने हुनुपर्ने जस्तो भएको छैन। त्यहि प्रतिष्ठा र गौरव पोखरा रंगशालाले उदांगो पार्ने त होइन? प्रश्न उठ्न थालेको छ।
टन्न समय हुँदा सुतेर बसेको राखेप यतिबेला जागेको छ। तर काम भने झारो टार्ने तरिकाले।
अहिले प्याराफिट निर्माण र सिट हाल्ने काम भइरहेको छ। भारतको कोलकाताबाट ल्याइएको दुबोमा पानी हाल्ने र रोलरले पेल्ने काम पनि भइरहेको छ। मैदान र प्याराफिटको काम भइरहे पनि अन्य पक्ष बाटो र भवन निर्माण भने थालिएको छैन।
हतारमा निर्माण गरिँदा जसोतसो प्रतियोगिता त खेलाउला तर त्यसको गुणस्तर भने कस्तो हुन्छ? स्तरीय मैदानको अभावमा टालटुल पारिएको मैदानमा खेलाडीलाई खेलाउँदा जोखिम हुने सम्भावना निकै छ।
राखेपका कर्मचारी भन्छन्, ‘काम धमाधम भइरहेको छ। मैदानमा पानी हाल्ने र रोलर लगाउने भइरहेको छ। भर्खरै दुबो हालिएको हँुदा त्यसको टुसा पलाएको छैन। दुबो मरे पनि खेलको बेला धुलो चाहिँ उड्दैन।’
चौरमा दुबो मरे पनि खेलको बेला धुलो नउड्ने कर्मचारीको जवाफले रंगशाला बारे धेरै कुरा बोल्छ।
कस्तो बन्ने रंगशाला कस्तो भयो?
पोखरा रंगशालाको इतिहास फराकिलो छ। कुनै बेला नेपाली फुटबलको जग ‘आहा रारा गोल्डकप’ले धानेको छ भन्ने गरिन्थ्यो। पोखरा रंगशालामा साहारा फुटबल क्लबले आयोजना गर्ने यो प्रतियोगिताको माहोल पनि देशव्यापी थियो।
पोखरा रंगशालामा दर्शक खचाखच भएको खेलाडीकै सम्झनामा पनि ताजा छ। राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ खेलको लयमा रहँदा उनी खेलेको हेर्न आउने दर्शकको त कुरै नगरौं । पछिल्लो समय अनिलले बढाएको ‘फ्यान’ पोखरा रंगशालामा भएका खेलमा पनि देखिन्थ्यो।
त्यहि फुटबलको इतिहास बोकेको यो रंगशाला भत्काएर नयाँ र अझ बढी दर्शक आट्ने बनाउन लागिएको हो। भव्य रंगशाला बन्ने कुराले सबैलाई खुसी नै बनायो।
सुरुमा १६ हजार ५ सय दर्शक क्षमता अट्ने रंगशाला निर्माण गर्ने भन्दै राखेपले नेपालको एमए कन्स्ट्रक्सन र भारतीय कम्पनी ग्रेड स्पोर्टस् इन्ट्रालाई ठेक्का दियो। यो कम्पनीले डिपिआर बनाएर राखेपलाई बुझायो पनि तर राखेपले त्यो डिपिआर स्वीकृत गर्न नै ६ महिना लगायो। त्यसबेला राखेपका सदस्यसचिव थिए केशवकुमार विष्ट।
राखेपका कर्मचारीका अनुसार डिपिआर स्वीकृत गर्न नै राखेप चुकेको हो। ‘डिपिआर स्वीकृत गर्न पनि राखेपले ६ महिना लगायो। त्यहीबाट ढिलोको सुरुवात भयो।’
बल्लतल्ल डिपिआर स्वीकृत भएर राखेपले निर्माण कम्पनीलाई एक अर्ब २८ करोड रुपैयाँमा पूर्णरुपमा रंगशाला निर्माण गर्न जिम्मा दियो। तर २०७५ माघदेखि सुरु भएको काम अहिलेसम्म पूरा हुन सकेन। त्यसैले साग आउनै लाग्दा झारा टार्ने गरी छोपछाप गर्नु परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।