काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले सबै पूर्वाधार आयोजना निजी क्षेत्रले नाफामा चलाउन नसक्ने भन्दै 'भायबिलिटी ग्याप'मा लगानी गर्न सरकार तयार रहेको बताएका छन्।
'सबै पूर्वाधार निजी क्षेत्रले चलाउन सक्दैन, त्यसलाई संभाव्य बनाउनका लागि भायबिलिटी ग्याप कतै छ भने त्यसको फण्डिङ गर्न हामी तयार छौँ,' उनले भने।
अर्थमन्त्री खतिवडाले नेपालको सार्वभौम रेटिङको प्रारम्भिक नतिजा अबको २/३ महिनामै आउने बताएका छन्। गैर आवासीय नेपाली संघको कार्यक्रममा अर्थमन्त्री खतिवडाले दक्षिण एसियामा प्रतिस्पर्धी हुने गरी नेपालले रेटिङ पाउने दावी गरे।
'हामीले सोभरन (सार्वभौम) रेटिङका लागि संस्था छानिसकेका छौँ, अबको २/३ महिनामा हामी त्यसको प्रारम्भिक नतिजा प्राप्त गर्न सक्छौँ,' खतिवडाले भने, 'मलाई लाग्छ हामी दक्षिण एसियाको प्रतिस्पर्धी अर्थतन्त्रकै रुपमा स्थापित हुने गरी रेटिङ पाउछौँ।'
नेपालले गरेको सुधारको प्रक्रियाले पनि त्यो विश्वास गरेको उनले बताए। मुलुकभित्रका आर्थिक उपकरणको पनि रेटिङ गर्ने गरी संस्थाहरु स्थापना भएको र उनीहरुले काम गर्ने पनि खतिवडाले उल्लेख गरे।
अर्थमन्त्री खतिवडाले हेजिङ नियमावली बनिसकेको भन्दै हेजिङ कम्पनी खोलेर लगानी गर्न पनि एनआरएनलाई आग्रह गरेका छन्। 'हेजिङ पनि एउटा विजनेस हो, हेजिङमा जोखिम मोलेर नाफा कमाउन सक्नुहुन्छ,' अर्थमन्त्री खतिवडाले भने।
सरकारले निजी क्षेत्रलाई सँगै लैजानका लागि सार्वजनिक निजि साझेदारी ऐन बनाएको भन्दै त्यसको नियमावली बन्ने चरणमा रहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।