राजधानीका सडक निस्किनसक्नु भएका छन् अहिले । धुलोले कुहिरीमण्डल छन् सडक र आसपास । शहरीकरणले वायु प्रदूषण बढ्दो छ । मानव स्वास्थ्यमा बढिरहेका नयाँ जोखिममा पर्छन्, धुवाँधुलो । यसअघि श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर गराउनमा चुरोटको सेवन र फ्याक्ट्रीको प्रदूषण प्रमुख मानिन्थ्यो । अर्थात् चिकित्सकीय हिसाबले आजभन्दा २०–२२ वर्षअघि सडकको धुलोधुवाँलाई मानव स्वास्थ्यमा हानी पु¥याउने तत्वका रुपमा लिइँदैनथ्यो । तर, अहिलेको वातावरणीय प्रदूषणलाई मानव स्वास्थ्यका लागि नयाँ मात्रै होइन, ठूलो समस्याका रुपमा लिन थालिएको छ ।
अहिले काठमाडौंको धुलोधुवाँले मानव स्वास्थ्यमा पार्ने असर दैनिक चारदेखि पाँचवटा चुरोट सेवन गरे बराबर रहेको एक तथ्यांकले देखाएको छ । त्यसैले अहिलेको धुलोधुँवा चुरोटको धुवाँ जत्तिकै हानिकारक बन्दै गएको छ ।
हामीले श्वासप्रश्वासका क्रममा लिने गरेको अक्सिजनका माध्यमबाट धुलोधुवाँका हानिकारक कण पनि शरीरभित्र पसिरहेका हुन्छन् ।
वातावरणमा हानिकारक तत्व कति छ भनेर ‘पिएम २.५’ बाट नापिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार पिएच २.५ बाट मापन गर्दा २५ भन्दा बढी हुनु हुँदैन । त्यो भन्दा बढी भयो भने स्वास्थ्यका लागि वातावरण प्रतिकूल रहेको मानिन्छ । हाम्रो सरकारी मापदण्डले चाहिँ पिएच २.५ लाई ४० सम्म स्वीकार गरेको छ । तर, अहिले काठमाडौं, चितवन लगायत मुख्य सहरमा वायू प्रदूषणको मापन ‘पिएच २.५’ एक सय ५० कटेको छ । यस हिसाबले मानव स्वास्थ्य अनुकूलभन्दा पाँच गुणा बढी प्रदूषण सहरी वातावरणमा भेटिन्छ । विशेष गरी बिहान ९ देखि १२ र साँझ ४ देखि ५ बजे प्रदूषणको मात्रा उच्च रहन्छ ।
वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामी बढिरहेका छन् । धुलोधुँवाका कारण श्वासप्रश्वास मात्रै होइन, छालासम्बन्धी विभिन्न रोग पनि लाग्छन् । आँखा पाक्ने समस्या आउँछ । गर्भवती महिलाको श्वासप्रश्वासमा समस्या आई गर्भलाई पनि असर पर्ने हुन्छ । धुलोधुँवाले श्वाप्रश्वास सम्बन्धी दीर्घ समस्या (सिओपिडी), फोक्सोको क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढाइरहेको छ ।
श्वासप्रश्वासका दीर्घरोगीहरुलाई यसको असर अझ बढी पर्छ । उनीहरुलाई पटक–पटक निमोनिया हुने गर्छ । कतिपयले प्रयोग गरिरहेको औषधि प्रभावहीन बन्न सक्छ । धुलोधुवाँको सबैभन्दा जोखिम बालबालिका, रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्ति, वृद्धवृद्धा र गर्भवतीलाई हुन्छ । एक स्वस्थ व्यक्तिमा खोकी लगातार लागिरह्यो र खकार धेरै बन्न थाल्यो भने धुलोधुवाँको असर भनेर बुझे हुन्छ ।
काठमाडौँमा अहिलेको अवस्थामा श्वासप्रश्वासका दीर्घ रोगीले सकेसम्म घरबाहिर ननिस्केको राम्रो । यतिबेला काठमाडौँका सडक र खुला ठाउँ शारीरिक व्यायामका लागि उपयुक्त छैनन् । किनभने व्यायाम गर्दा श्वासप्रश्वास बढी लिनुपर्ने भएकाले हावामा रहेका हानिकारक तत्व शरीरभित्र पुग्ने सम्भावना पनि बढी हुन्छ ।
घरबाहिर निस्किँदा सावधानीका उपाय अनिवार्य अपनाउनुपर्छ । विशेष गरी मास्क लगाएर मात्रै खुला सडकमा निस्किनु राम्रो हो । साना स्कुले नानीहरुलाई स्कुल लैजाँदा र ल्याउँदा मास्क लगाइदिनुपर्छ । बच्चाहरुको स्कुल जाने र आउने समय नै वायु प्रदूषणका हिसाबले सबैभन्दा खराब समय हो ।
जताजतै खनिएका सडक, त्यसबाट निस्किने प्रसस्त धुलो, सुक्खा मौसम र यातायात प्रदूषणले काठमाडौँमाथिको वातावरण अत्यासलाग्दो छ । वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चालिएन भने, अस्पतालहरुमा श्वासप्रश्वासका बिरामी थेगिनसक्नु नहोलान् भन्न सकिन्न ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।