काठमाडौं- नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निमन्त्रणामा नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली बुधबार स्वदेश फर्किएका हुन्।
ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल, विदेश विभाग उपप्रमुख विष्णु रिजाल र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले बिदाइ गरेका थिए।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको अधार तय गर्ने ठानिएको ताओको नेपाल भ्रमण दुई देशका कम्युनिस्ट पार्टीबीच भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रित थियो।
दुई देशका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया कार्यक्रममा सहभागी हुन नेता सोङसहितको टोली सोमबार काठमाडौं आइपुगेको थियो।
नेकपाको स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले असोज ६ र ७ गते काठमाडौंमा संयुक्तरुपमा आयोजना गरेको ‘विचारधारात्मक छलफल’ कार्यक्रममा उनले भाग लिएका थिए।
दुई पार्टीबीच विभिन्न ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो। समझदारीपत्रमा उच्चस्तरीय भ्रमणदेखि विचार तथा सिद्धान्तमा आधारित वार्षिक कार्यक्रमसम्म उल्लेख छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।