जनकपुर- राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टी नेपालले सरकार छाडेपछि समानताको आधारमा मात्रै पार्टी एकता हुने बताएका छन्।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता महतोले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने धारणा राखेका हुन्। उनले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताए। उनले भने, ‘पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो।’
नेता महतोले जनताको भावनालाई सम्मान गर्न मधेसवादी ६ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ र त्यो वैकल्पिक पार्टी एकतापछि सम्भव छ।’
जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उनको भनाइ छ।
नेता महतोले संविधान संशोधन नभएसम्म विरोध भइरहने भएको हुँदा संविधान रक्षाका लागि पनि संशोधन आवश्यक भएको तर्क गरे।
उनले नेपाल पत्रकार महासंघ धनुषा शाखाको निर्माणाधीन सभाकक्षको निरीक्षणसमेत गरे। धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महतोले संसदीय कोषबाट महासंघ धनुषा शाखालाई सभाकक्ष निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।