काठमाडौं– एउटा निर्देशकका कारण कलाकारको अभिनयमा कति फरक पर्छ, त्यसको पछिल्लो उदाहरण हुन्, अभिनेत्री स्वस्तिमा खड्का। फिल्म ‘बुलबुल’ उत्कृष्ट अभिनेत्रीका रुपमा नेसनल अवार्ड जितेकी उनलाई त्यसपछि रिलिज भएको ‘हजार जुनीसम्म’फिल्म हेर्दा दर्शक र समीक्षक दुवैले फिक्का महसुस गरे।
हुन पनि हो, ‘बुलबुल’को तुलनामा त्यहाँ उनको अभिनय निकै कमजोर थियो। ‘बुलबुल’मा निर्देशक विनोद पौडेलले उनलाई ‘टेम्पो महिला ड्राइभर’को भूमिकामा उतारेका थिए भने ‘हजार जुनीसम्म’मा विकास आचार्यले ‘लभर गर्ल’।
यो त भयो स्वस्तिमाको उदाहरण। अब चुरो कुरोतिर लागौं। हालै अभिनेता अनमोल केसी निर्देशक साम्तेन भुटियाको नयाँ फिल्म ‘धुपौरे’मा अनुबन्धित भएको घोषणा भएको छ। अनमोलले फिल्मका लागि पचास लाख लिएको चर्चा समेत छ। यद्यपी फिल्म युनिटले त्यसको पुष्टि गरेको छैन।

‘होस्टेल’बाट ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, ‘क्याप्टेन’ लगायत फिल्म खेल्दै ‘ए मेरो हजुर–३’सम्म आइपुग्दा पनि अनमोलको अभिनयमा खासै सुधार नदेखिएको समीक्षकहरुले बारम्बार टिप्पणी गर्दै आइरहेका छन्। बक्सअफिसमा उनका फिल्मले राम्रै व्यापार गरेपनि उनको अभिनय जीवन्त हुन नसकेको टिप्पणी समीक्षकले गर्दै आइरहेका छन्।
रंगकर्मी एवम् अभिनय गुरु अनुप बरालले भनेझै अनमोल नेपाली फिल्म क्षेत्रमा ‘डार्लिङ एक्टर’कै रुपमा सिमित हुन खोजिरहेका छन्।
‘डार्लिङ एक्टरको मोह के हुन्छ भने उनीहरु आफ्नो रुप, आफ्नो लुगाहरु एकदमै राम्रो बनाएर हिँड्न खोज्छन्,’ अभिनेता बरालले एक अन्तरवार्तामा भनेका थिए, ‘उनीहरुलाई मान्छेहरुले मन पराइदिए पुग्छ। कहिलेकाहीँ क्यारेक्टरलाई आत्मसात गर्ने क्रममा निधार पनि खुम्चाउनुपर्ने हुन्छ, चिच्याउदा अनुहार नराम्रो देखिन सक्छ। हो, अनुहारलाई नराम्रो देखाउने त्यस्ता दृश्यहरु उनीहरु गर्न रुचाउँदैनन्। दाँत राम्रो देखिन्छ भन्ने लाग्यो भने ऊ सँधै मुस्काएर अभिनय गर्न खोज्छ। डिम्पल छ भने सधैँ डिम्पलकै पछि दौडिन्छ। उनीहरु एक किसिमको ‘नार्सिज्म’ले ग्रस्त हुन्छन्। आफ्नो क्षमता बढाउने हो भने विविधता दिन सक्नुपर्छ। कति लभरब्वाय भएर खेल्ने?’
सायद समीक्षकको बारम्बार टिप्पणी पछि अनमोललाई पनि यसको आत्मबोध भइरहेको छ। त्यसैले उनी फरक धारका निर्देशकका रुपमा परिचित साम्तेन भुटियाको फिल्म खेल्न तयार भए।
साम्तेनले ‘तान्द्रो’, ‘अनागत’जस्ता फिल्म निर्देशन गरेका छन्। उनी निर्देशित ‘च च हुई’ मंसिरमा रिलिज हुने तयारीमा छ। उनले निर्देशन गरेको माओवादी द्धन्दको कथामाथि बनेको ‘तान्द्रो’मा अभिनेता दयाहाङ राईंले कमरेड कोसिसको चरित्र निर्वाह गरेका थिए। फिल्म समीक्षकहरुले यो फिल्ममा उनले गरेको जीवन्त अभिनयलाई करिअरकै उत्कृष्ट अभिनय भनेर टिप्पणी गरेका थिए। कमरेड कोसिसको भूमिकामा दयाहाङले फिल्ममा पात्रअनुसार घाइते कमान्डरको मनोदशालाई जीवन्त प्रस्तुत गरेका थिए।
अब हेर्न बाँकी छ, फिल्ममा दयाहाङलाई जीवन्त उतार्न सफल साम्तेनले अनमोलको अभिनय निर्खालान् त? निखारिएछ भने ढुक्कसाथ भनौँला, ‘एउटा कलाकारको अभिनयमा निर्देशकको भूमिकाले साँच्चै फरक पार्ने रहेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।